सुनाखरीले दुई जना विद्यार्थीलाई पढाइदिने

नेपालगञ्ज – सुनाखरी रेष्टुरेन्ट प्रालिले विपन्न परिवारका दुई जना विद्यार्थीलाई पढाई दिने भएको छ ।
प्रालीको आइतबार भएको छैठौ साधारण सभाले सामाजिक कार्यअन्तर्गत दुई जना विद्यार्थीलाई ९ देखि १२ कक्षासम्म पढाइदिने निर्णय गरेको हो । यो वर्ष सरस्वती माविमा पढ्ने इसरार खाँ र धम्बोझी माविमा पढ्ने सलोनी गोडियालाई छनौट गरिएको रेष्टुरेन्टका प्रवन्धक घनश्याम शर्माले जानकारी दिनुभयो ।
सुनाखरी रेष्टुरेन्ट प्रालिले पढाईसँगै जागीर पनि दिने भएको छ । हरेक वर्ष दुई÷दुई जनालाई छात्राबृत्ति दिदै जाने रणनीति बनाइएको छ । छात्राबृत्तिमा होटल म्यानेजमेन्ट पढाउने र १२ कक्षा पास गरेपछि काम गर्न चाहनेलाई जागीर पनि दिने प्रवन्धक शर्माले बताउनुभयो ।
सुनाखरी रेष्टुरेन्ट नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ मा रहेको छ । वीपीचोक नजिक रहेको यो रेष्टुरेन्टले वडा नं. १२ का गरीव परिवारका जेहेन्दार विद्यार्थीलाई छात्राबृत्ति दिने प्रालीका अध्यक्ष कृष्णप्रसाद खनालले जानकारी दिनुभयो ।
योसँगै रेष्टुरेन्टले हरेक तीन÷तीन महिनामा बृद्धाश्रममा गएर खाना खुवाउने रणनीति बनाएको छ । रेष्टुरेन्टले खेलकुदमा पनि निरन्तर सहयोग गर्ने बताएको छ ।
होटल व्यवसायी संघ, बाँकेका अध्यक्ष रंगबहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा कर्मचारीहरु खिमलाल शर्मा, रमेश बस्नेत, जयराम देवकोटा, महेश धिताल, कल्पना चन्दलाई सम्मान गरेको थियो । रेष्टुरेन्टले पत्रकार जे. पाण्डे र राकेश मिश्रलाई पनि सम्मान गरेको थियो ।
सुनाखरी रेष्टुरेन्टमा कृष्णप्रसाद खनाल, घनश्याम शर्मा, पुण्यप्रसाद भट्टराई, प्रदीप ज्ञवाली, पवित्रप्रकाश शर्मा, मोहम्मुद अहमद सिद्धिकी, हर्कबहादुर बोहरा, खिमलाल शर्मा, भक्तराज उप्रेती, बन्धु चौधरी, सूर्यप्रसाद शर्मा, रुद्रप्रसाद शर्मालगायतको शेयर रहेको छ । सुनाखरीमा ५३ जना कर्मचारी रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !