सरकारी वकिल गायव !
नेपालगञ्ज – सहकारीको रकम हिनामिना मुद्दाको अन्तिम बहसमा सरकारी वकिल गायव भएका छन् । सहकारी वित्तिय संस्था लिमिटेड नेपालगञ्जको रकम हिनामिना मुद्दाको आइतबारको अन्तिम सुनुवाईमा सरकारी वकिल गायव भएका हुन् ।
पीडित संघर्ष समितिका सहसंयोजक आशुतोष शुक्लाका अनुसार, चार वर्षदेखिको मुद्दाको पुस ३ गतेदेखि लगातार बहस भइरहेको थियो । आइतबार अन्तिम बहस थियो । यही दिन सरकारी वकिल उपस्थित भएनन् । न्यायाधीश इन्द्रबहादुर कठायतले सरकारी वकिललाई खोजिरहेपछि पीडितहरु कार्यालयमै जादा पनि सरकारी वकिल भेटिएनन् । मोबाइलसमेत स्वीचअफ थियो ।
सहकारी वित्तिय संस्था लिमिटेडमा ४३ करोड रुपैया हिनामिना भएको छ । ११ हजार ८ सय ४ जना निक्षेपकर्ताको पैसा हिनामिना भएको छ । त्यसमध्येमा एक हजार पाँच सय ६ जनाले ३७ करोडको जाहेरी दिएका छन् । २०७६ साल असोज २८ गते परेको मुद्दाको अझै टुंगो लागिसकेको छैन । सहकारीमा रहेका ४१ जनाविरुद्ध मुद्दा परेको छ । सात जना अहिले पनि कारागारमा रहेका छन् । गोपाल भण्डारी, गंगाधर सुवेदी, अरुण पाठक, गौरव श्रेष्ठ, बलराम यादव, सूर्य विक र शारदा थापा कारागारमा रहेका छन् । अरु ३४ जना धरौटीमा छुटेका छन् ।
पीडितको तर्फबाट बहस गर्न काठमाडौंबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी आएका थिए । उनीसँगै वरिष्ठ अधिवक्ता विजयकुमार गुप्ता, अधिवक्ता पुनम श्रेष्ठलगायतले बहस गरेका छन् । मुद्दाको बुधबार फैसला आउने बताइएको छ ।