लुम्विनी प्रदेश प्रहरी गण विजयी
नेपालगञ्ज – बाँकेको खजुरा ४ ईगाउँमा खुल्ला नकआउट फुटबल प्रतियोगिता शुरु भएकाे छ । बाजा गाजा र साँस्कृतिक कार्यक्रम सहित सुरु भएको प्रतियोगिताको लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्रीले मनकामना नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ईगाउँको खेल मैदानमा उद्घाटन गर्नुभयो ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रदेशसभा सदस्य खत्रीले खेलकुदको विकासका लागि आफुले पहल गर्ने बताउँदै ग्रामीण क्षेत्रमा खेलकुदका ठूला प्रतियोगिता हुनु आफैमा सह्रानीय काम भएको बताउनुभयो ।
क्लबका अध्यक्ष प्रकाश केसीको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाही, खजुरा गाउँपालिका ४ का वडा अध्यक्ष टेकबहादुर रोकाय, नेपालगञ्ज उद्योग बाणिज्य संघका एशोसियट सदस्य कमल कार्की, खजुरा गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिव छवी विष्ट, नेकपा एमालेका घननाथ खनाल र झगबहादुर पौडेल, नेपाली काँग्रेसका शंकर रावत, नेकपा माओवादी केन्द्रका राजकुमार विक र खड्ग वली, राष्ट्रिय स्वतन्त्र पार्टीका कुमार गिरी, क्लवका उपाध्यक्ष गोविन्द खत्री, सचिव भोला मल्ललगायतले शुभकामना ब्यक्त गर्दै प्रतियोगिताको सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।
न्यू दर्पण युवा स्पोर्ट्स क्लबको आयोजनामा पुस १६ गते सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक दर्पणलाई ० का विरुद्ध २ गोलको अन्तरले पराजित गर्दै लुम्विनी प्रदेश प्रहरी गण खजुराले विजयी सुरुवात गरेको छ । प्रहरीका तर्फबाट जर्सी नम्बर १० का अर्जुन कुमालले दुई गोल गरे । म्यान अफ द म्याच कुमाललाई सुवी एजुकेशन एण्ड भिसा सर्भिसका प्रबन्ध निर्देशक विनोद बास्तोलाले नगद पुरस्कार वितरण गरे । प्रतियोगितामा १७ टोलीको सहभागिता छ । प्रतियोगिताको बिजेतालाई एक लाख, दोश्रो हुनेलाई ५१ हजार सहित प्रत्येक खेलको मेन अफ द म्याचलाई नगद पुरस्करको ब्यवस्था गरिएको छ ।