देहरादुन म्याराथनमा भाग लिएर फर्किएका खेलाडीलाई सम्मान

नेपालगञ्ज – धारा नेपालगञ्ज म्याराथनको समन्वयमा भारतको देहरादुन म्याराथनमा भाग लिन पुगेका चार नेपाली प्रतिस्पर्धीलाई नेपालगञ्जमा स्वागत र सम्मान गरिएको छ ।
धारा नेपालगञ्ज म्याराथन आयोजना गर्ने क्रियटिभ ह्याण्डसका संस्थापक अध्यक्ष टीएस ठकुरीले देहरादुनमा पुगेर आ–आफ्नो समूहमा पुरस्कृत भइ फर्किएका नेपाली खेलाडीलाई सम्मान र स्वागत गर्नु भएको हो ।
नेपालगञ्ज म्याराथन र देहरादुन म्याराथनका बीचमा सहयोग आदान प्रदान हुँदै आएको छ । यी चारै जना खेलाडीलाई नेपालगञ्ज म्याराथनले समन्वय गरेर पठाएको थियो ।
देहरादुन म्याराथनमा ५० देखि ५९ वर्ष उमेर समूहमा ४२ किलोमिटर दौडेका रेवतबहादुर दाहाल प्रथम, २१ किलोमिटरमा ४० देखि ४९ वर्ष उमेर समूहमा दौडेका राजु श्रेष्ठ दोस्रो, १० किलोमिटरमा ५० देखि ५९ वर्ष उमेर समूहमा दौडेका शिवलाल ओली तेस्रो र २१ किलोमिटरमा ४० देखि ४९ वर्ष उमेर समूहमा दौडेका जहरमान गुरुङ चौथो भएका थिए ।
देहरादुनबाट फर्किएका खेलाडीलाई ठकुरीले क्रियटिभ बुक्सले प्रकाशन गरेका कितावहरु सम्मान स्वरुप दिनु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !