सद्भाव कायम राख्न कांग्रेसकाे अपिल
नेपालगञ्ज – नेपाली कांग्रेस बाँकेले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न अपिल गरेको छ ।
सभापति नारायणप्रसाद गौडेलले आज एक प्रेस विज्ञप्ती जारी गर्दै विभिन्न धर्मका धार्मिक गुरुहरु, राजनीतिक दल र समग्र नागरिक समाजलाई शान्ति र सहिष्णुता कायम राख्न आ–आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका र योगदानका लागि आग्रह गर्नुभएको छ । उहाँले सबै धार्मिक आस्थाप्रति सबैको समानुभूति हुने गरी सद्भाव कायम राख्न सबैमा आह्वान गर्नुभएको छ ।
सभापति गौडेलले कुनै पनि व्यक्ति, संघसंस्था वा सम्प्रदायले कसैको धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने वा कुनै धर्मको विरुद्ध हुने गरी कुनै पनि सामाजिक सञ्जालमा फोटो, लेख, रचना वा अन्य कुनै किसिमको संकेत नगर्न अपिल गर्नुभएको छ । ‘यदि कोही कसैबाट कानुन विपरीतका यस्ता गतिविधि भए सम्बन्धितलाई कानुन बमोजिम कडा कारबाहीका लागि ध्यानाकर्षण गराउँदछौं,’ विज्ञप्तीमा भनिएको छ ।