बाल सुधार गृहबाट भागेका एक जना समातिए

नेपालगञ्ज – बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बाल सुधार गृहबाट फरार रहेका एक जना बालबन्दी समातिएका छन् ।
असोज ४ गते राती १० बजे बाल सुधार गृहमा रहेका बालबन्दीका बीचमा आपसमा झडप हुँदा फरार रहेका चार जनामध्येका एक जना सन्देश गुरुङ दैलेखबाट समातिएका हुन् । बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार, बाँकेबाट खटिएको प्रहरी टोलीले दैलेखको जंगलमा लुकेर बसेका सन्देशलाई पक्राउ गरेको हो ।
बाल सुधार गृहबाट भागेका अन्य तीन जना समातिएका छैनन् । उनीहरुलाई खोज्न प्रहरीले टोली परिचालन गरेको छ ।
एक हप्ता अघिको झडपमा एक जना सुलभ केसीको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । बाल सुधार गृहमा भएको झडपमा अगुवाई गरेका ६४ जनालाई अलग राखिएको छ । उनीहरुलाई विभिन्न प्रहरी कार्यालयमा राखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !