सनीदेवता भएको ठाउँको दानपेटी खोइ ?

नेपालगञ्ज – नेपालगञ्जको बागेश्वरी मन्दिरको मुख्य ढोकाको बायापट्टीको रुखको फेदमा सनीदेवताको मूर्ति छ । त्यहाँ ठूलो दानपेटिका राखिएको थियो । त्यहाँ संकलन भएको दान मूल महन्त चन्दननाथ योगीले लिनुहुन्थ्यो ।
बागेश्वरी गुठी व्यवस्थापन समितिका अध्यक्ष एवं नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले दानपेटिकामा व्यवस्थापन समितिको साँचो लगाउन निर्देशन दिएसँगै सनीदेवताको छेउमा राखिएको दानपेटी निकालिएको छ ।
सनीदेवताका भएको ठाउँसँगै अन्यत्र राखिएका दानपेटिका पनि निकालिएको छ । मूल महन्त योगीले करमोहनावासीको आन्दोलनस्थलमा पुगेर मेयर राणालाई गब्बरशमशेर भन्नु र दानपेटिकामा ताला कसले लगाउने भन्नेसम्मको कुराले मेयर राणा र मूल महन्तको विवाद सतहमा आएको छ ।
मन्दिरको सम्पति संरक्षण गर्ने मेयर राणाले बताइरहनु भएको छ । त्यसक्रममा मन्दिरका स–साना कुरामा ध्यान दिन थालिएको छ । कुरा दानपेटीसम्म पुगेको छ ।
स्थानीय निकायको निर्वाचनसँगै जनप्रतिनिधि आएपछि बागेश्वरी मन्दिर व्यवस्थापन समिति बनेर त्यहाँको हिसाव पारदर्शी बनाउने प्रयास गरिएको छ । त्यसक्रममा ८४ विगाह जमिनको कुरा आएको छ । बागेश्वरीको जग्गाको विषय सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले छानबिन गरेर सरकारलाई प्रतिवेदन बुझाइसकेको छ ।


error: यो सुविधा उपलब्ध छैन !