बाढी पीडितद्वारा स्थायी बसोबासको माग

नेपालगञ्ज – बाँके डुडुवा गाउँपालिकाका बाढीपीडितले स्थायी बसोबासको उचित व्यवस्थापन गर्न माग गरेका छन् । राप्ती नदी, डुडुवा र सुतिया नालाबाट प्रभावित भई विस्थापित भएर विगत १७ वर्षदेखि अस्थायी रुपमा झोरा सामुदायिक वन समूहको जग्गामा बस्दै आएका पीडितहरुले त्यहाँबाट हटाउन खोजिएपछि स्थायी रुपमा बसोबासका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएका हुन् ।
पीडितहरुले आइतबार नेपाल सरकारका प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र प्रदेश ५ सरकार तथा मुख्यमन्त्रीलाई उचित स्थायी बसोबासका लागि मागपत्र पठाएका हुन् । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले पीडितहरुको तर्फबाट बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई मागपत्र हस्तान्तरण गर्नुभयो । मागपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी खड्काले पीडितहरुको मागका बारेमा संवेदनशील भएको र तत्काल माग सम्बोधनका लागि सम्बद्ध निकायहरुमा पठाउने बताउनुभयो ।
गाउँपालिकाको वार्ड नं. १ र २ मा बसोबास गर्ने नागरिकको घर तथा जमिन राप्ती नदीको किनारमा भएकाले नेपाल भारत सिमा नजिक भारतले बनाएको लक्ष्मणपुर बाँधबाट राप्ती नदी र डुडुवा खोला सुतिया नालाको पानीको बहावले डुबान भई पीडितहरु विस्थापित भएका छन् । साविकको घर जग्गामा बस्न नसकी आश्रयस्थलको खोजीमा रहेका बाढीपिडितहरु अहिले गाउँपालिकाको वार्ड नं. १ र २ स्थित झोरा सामुदायिक वनको किनारमा अस्थायी घर टहरा बनाई बसोबास गरि जीवन गुजारा गर्दै आएका छन् । उनीहरुले सुरक्षित बास स्थान, शुद्ध पिउनेपानी, विद्युत जस्ता मानवीय जीवनमा न्युनतम र आधारभुत आवश्यकताको व्यवस्थापन गर्न माग गरेका छन् । बाँकेका होलियाबासीहरु हरेक वर्ष नदीको कटान, डुबानबाट प्रभावित हुँदै आएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !