स्वस्थानी वर्तालुको बागेश्वरीमा भीड

नेपालगञ्ज – पुस शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी वर्त आइतबार समापन भएको छ ।
पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको वर्त सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले आइबार माघ शुक्ल पूर्णिमामा वर्त समापन गरेका हुन् । स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबिच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने काम पनि आइतबार अन्त्य भएको छ ।
विधिपूर्वक एक महिने वर्त गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरिका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई वर्तको कामना पूर्णहोस् भनी भगवतीलाई अर्घ्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवम् मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने वर्त विधि छ ।
सय रोटी वर्तालुले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा वर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो ।


उत्तरायणपछिको समय ध्यान, योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।
स्वस्थानी देवीका चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी वर्त कथामा उल्लेख गरिएको छ । यस्ती देवीको विधिपूर्वक वर्त गरेमा बिछोड भएका जोडीको पुनः मिलन हुन्छ भन्ने विश्वास छ । रोगव्याधि लागेको भए ठीक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाउँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको वर्त गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । वर्तपछि बिछोडमा परेका नाग नागिनीसमेतको पुनः मिलन भएको कथामा उल्लेख छ ।
एक महिना वर्त बसेका तथा कथावाचन गरेकाहरुले नेपालगञ्जको बागेश्वरी मन्दिरमा पूजापाठ गरेर समापन गरेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !