बालविवाहविरुद्ध कुरा गर्दा पुरैनावासी ‘नाखुस’

नेपालगञ्ज – डीएसपी शिवबहादुर सिंहले भन्नुभयो, ‘बालविवाह गराउनेका लागि जिल्ला प्रहरी कार्यालयको गेट खुल्ला छ । सबैलाई थुन्छु ।’
स्थानीयवासीको वाक्लो उपस्थिति रहेको छलफलमा डीएसपी सिंहले चेतावनी दिंदा छेवैमा रहेका जाकिर अलि मनिहार फ्याट्ट बोल्नु भयो, ‘हामी पनि तयार छौं । आइहाल्छौं ।’
खासमा कुनै अतिथि बोलिरहेको बेलामा अर्को व्यक्तिले बोल्दैनन् । विशिष्ट अतिथिको रुपमा बोलेका डीएसपी सिंहको चेतावनीलाई बीचैमा काट्दै मनिहारले जिल्ला प्रहरी कार्यालय आउन तयार रहेको चुनौती दिनुभयो ।
बालविवाह गर्नेलाई तीन वर्ष कैद हुन्छ भन्ने कुरा मनिहारलाई थाहा थियो कि थिएन कुन्नी ? डीएसपी सिंहले त्यही कुरा सम्झाउदा प्रतिवाद गर्न आइपुग्नुभयो ।


पुरैनामा बालविवाह गर्नु हुँदैन । कानूनतः अपराध हो भन्ने सम्झाउन कार्यक्रम राखिएको थियो । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ पुरैनाका अध्यक्ष रन्जित खाँले कानूनको सबैले पालना गर्नुपर्छ । छोराछोरीको विवाह २० वर्ष पुगेपछि गर्नुपर्छ । त्यो भन्दा अघि गर्नेलाई कारबाही हुन्छ भनेर बोलिरहदा टोफेल दर्जी, सोहन यादवले बीचमा प्रश्न गर्नुभयो ? प्रधानजी तपाई पनि २० वर्षमा विवाह गर्नुपर्छ भन्नुहुन्छ ?
अध्यक्ष खाँ बोलिरहदा धेरैजनाले असन्तुष्टि जनाएर कार्यक्रमस्थलबाट हिड्न खोजे । कार्यक्रमको अध्यक्षता गरेका वडाध्यक्ष खाँले बोल्ने बेलासम्म बसिदिन प्रमुख अतिथि बनेका नेपालगञ्जका उपमेयर उमा थापामगरले आग्रह गरिएपछि अगुवा भनिएकाहरु एकछिन बसिदिए ।
बालविवाहको विरुद्धमा खरो रुपमा उत्रिएका किशोरी क्लवकी पूजा बर्मालाई गन्तब्य दिन बोलाउदा कार्यक्रमस्थलमा रहेका केहीले भन्दै थिए, उसले के बोल्छ ? बालविवाहले पुर्याउने असरसँगै नेपालको कानूनबारेमा प्रष्ट बोल्न सक्ने पूजाको कुरा गर्न गाउँले तयार देखिदैनथे ।
यही पुरैना हो, जहाँबाट दुई हप्तामा सात वटा बालविवाह रोकिएको छ । केही दिनमै दुई जनाको बालविवाह हुँदैछ भनेर सूचना आइसकेको छ । १६ वर्षमै विवाह गर्नुपर्छ भन्ने स्थानीयबासीको सोचले गर्दा उपमेयर थापा, डीएसपी सिंह, वडाध्यक्ष खाँ, किशोरी बर्माले बालविवाहको असर र कानूनका बारेमा सम्झाउदा स्थानीयले प्रतिकारको संकेत देखाए । सबैजना बालविवाहकै पक्षमा देखिएकाले कार्यक्रमले उपलब्धी हासिल गर्यो कि गरेन त्यो त आगामी दिनमा थाहा होला । तथापि, बालविवाह गर्नेलाई तीन वर्ष कैद, पुरोहितलाई समेत डेढ वर्षको सजाय हुने कुरा गाउँलेलाई सुनाइएको छ । १६ वर्षमा विवाह गर्नुपर्छ भन्नेहरुको दिमागमा केही बुद्धि पलायो कि खोइ ?


error: यो सुविधा उपलब्ध छैन !