अख्तियारमा उजुरीको चाङ, फर्छ्र्यौट सुस्त

नेपालगञ्ज – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल सम्पर्क कार्यालय, नेपालगञ्जमा चालु आर्थिक वर्षको ६ महिनामा ४ सय ५८ वटा उजुरी परेका छन् ।
नेपालगञ्ज सम्पर्क कार्यालयले बाँके, बर्दिया र दाङ जिल्लालाई हेर्ने गर्दछ । यी जिल्लाबाट ६ महिनामा ४ सय ५८ वटा उजुरी परेको सम्पर्क कार्यालयका प्रमुख गणेश गैरेले जानकारी दिनुभयो । गैरेका अनुसार, तीन जिल्लामध्ये बाँकेमा बढी उजुरी परेका छन् । बाँकेमा २ सय १० वटा उजुरी परेका छन् । दाङमा एक सय ४२ र बर्दियामा एक सय ६ वटा उजुरी परेको कार्यालयले जनाएको छ । तीमध्ये उजुरीमध्येमा बाँकेमा ५६ वटा, दाङमा ३३ र बर्दियामा २२ वटा फछ्र्यौट भएको छ । ४ सय ५८ मध्येमा एक सय ११ वटा फर्छ्र्यौट हुँदा ३ सय ४७ वटा उजुरीमा अनुसन्धान भइरहेको छ ।
सम्पर्क कार्यालय नेपालगञ्जमा परेका उजुरीमध्येमा सबैभन्दा बढी संघीय अर्थात स्थानीय तहका छन् । संघीयमा एक सय ३९, शिक्षामा १ सय २, वनमा ५६, भूमिमा ४०, स्वास्थ्यमा २३, भौतिक, पूर्वाधार तथा यातायातमा १६, गृहमा १३, खानेपानी र शहरी विकासमा १० र अन्यमा २६ वटा उजुरी परेको कार्यालय प्रमुख गैरेले जानकारी दिनुभयो ।
अख्तियारको नेपालगञ्ज कार्यालयमा पर्याप्त जनशक्ति नहुँदा उजुरी अनुसन्धानमा असर परेको छ । अहिले २८ जनाको दरबन्दी हुँदा तीन जनामात्रै अनुसन्धान अधिकृत रहेका छन् । विगत सात महिनादखि प्राविधिक जनशक्ति थिएनन् । भर्खरै आएका छन् । अब नेपालगञ्जमा ४० जनाको दरबन्दी पुर्याउने तयारी भइरहेको छ ।
अख्तियारको २९ औं स्थापना दिवस मनाउने क्रममा पत्रकारसँग भेटघाट गरिएको थियो । अख्तियारले स्थापना दिवसको अवसरमा अन्तरक्रिया, छलफल र सडकनाटक समेत देखाउने कार्यतालिका बनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !