प्रखर परोपकार मिशनकाे नयाँ टीमले लियाे पदभार


नेपालगञ्ज – प्रखर परोपकार मिशन नेपाल, खजुराको नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

आगामी तीन वर्षका लागि प्रखरको ११ औ साधारणसभाले स्थानीय अगुवा महेन्द्र मल्लको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको थियाे ।
पश्चिम नेपालको एक मात्र क्यान्सर अस्पताल सुशील कोइराला प्रखर क्यान्सर अस्पताल निर्माणको नेतृत्व लिएको सो संस्थाको नयाँ कार्यसमितिको समितिको वरिष्ठ उपाध्यक्षमा सुदीप पौडेल, शेरबहादुर बुढा, महासचिवमा इ. विवेक लामिछाने, कोषाध्यक्षमा तारामणि अधिकारी, सचिवमा लेखनाथ सापकोटा, सहकोषाध्यक्षमा जिवनाथ सापकोटा सर्वसम्मत चयन भएका छन् । त्यसैगरि प्रखरको सदस्यहरुमा वरिष्ठ पत्रकार पूर्णलाल चुके, रामचरण बिसी, बालकृष्ण लामिछाने, विकास सापकोटा, अब्दुल कादिर शेख, दीपक ढकाल र होमनाथ पौडेल चयन भएका छन् ।

प्रमुख निर्वाचन अधिकृत अधिवक्ता ईश्वरी प्रसाद ज्ञवालीले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण गर्दै शपथ ग्रहण गराउनु भएको थियो ।

सो अवसरमा नवनिर्वाचित अध्यक्ष महेन्द्र मल्लले प्रखर परोपकार मिशन नेपाल, खजुराको अगुवाईमा निर्माण र सुचारु भएको पश्चिम नेपालकै गौरवको रुपमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको विकासका लागि आफु र आफ्नो टिमले काम गर्ने विश्वास दिलाउनु भयो । उहाँले अस्पताललाई यो अवस्थासम्म ल्याइपुर्याउने पुराना समितिका अनुभवी साथीहरुसंग सहयोग, समन्वयको भूमिका निर्वाह गरेर सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

स्थापनाकालदेखि नेतृत्वमा रही क्यान्सर अस्पतालको निर्माण र विकासका लागि अहोरात्र खटिनु भएका १८ वर्षसम्म प्रखरको नेतृत्व गर्दै आएका किस्मतकुमार कक्षपति नयाँ कार्यसमितिको तर्फबाट सम्मान गरिएको थियो । सम्मान ग्रहण गर्दै कक्षपतिले श्रीमद्भागवत ज्ञान महायज्ञ मार्फत् सन्त दीनदयाल महाराजको संकल्पमा क्यान्सर अस्पताल निर्माण र सुचारु गर्न आफ्नो टिम अहोरात्र खटिएको बताउनु भयो । मैले यो अस्पतालको विकास र वृहत्तर हितका लागि सबै राजनीतिक आस्थाका साथीहरुसंग हातेमालो गरेर काम गरेको र आस्थाको आधारमा कुनै पनि भेदभाव नगरेको स्मरण गराउँदै, यति हुँदा हुँदै पनि आफु माथि साधारणसभामा मानमर्दन गर्ने धृष्टता र सामाजिक सञ्जालमा बदनाम गर्ने प्रयास गरिएको प्रति गुनासो पोख्नु भयो ।

संस्थाका कानुनी सल्लाहकार अधिवक्ता ईश्वरी प्रसाद ज्ञवालीले कानुनी सल्लाहकारको रुपमा काम गर्दा यस संस्थाबाट धेरै नयाँ कुरा सिकेको र आफ्नो पेशागत व्यवसायको लागि ठूलो उपलधि भएको बताउनु भयो ।

सो अवसरमा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक कार्डियोथोरापिक एण्ड भास्कुलर सर्जन तथा क्यान्सर रोग विशेषज्ञ डा. निरज भट्टराईले अस्पतालमा अब ब्लड क्यान्सरदेखि सबै खाले क्यान्सरका रोगहरुको उपचार हुन थालेको बताउनु हुँदै अस्पतालमा काम गर्ने राम्रो वातारण सिर्जना हुन सक्यो भने यो पश्चिम नेपालकै हब हुनसक्ने र गौरव पनि यस क्षेत्रका नागरिकले पाउन सक्ने बताउनु भयो ।

डा. भट्टराईले संस्थापक संस्था प्रखर परोपकार मिसन नेपाल र स्थानीय समुदायको सहयोगको आवश्यकता भएको तर्फ संकेत गर्दै अस्पतालको वृहत्तर हितका लागि तपाईंहरु काम गर्नु होस्, हामी छौं भन्ने ढाडस आवश्यक रहेको बताउँदै काठमाडौंमा सम्भव नभएको यस अस्पतालमा सम्भव भएको बताउनु हुँदै जनरल रोगका लागि सेवा दिंदै आएको अस्पतालले पछिल्लो समय क्रमिक रुपमा क्यान्सर रोगको उपचारका लागि विभिन्न प्रकारका विशेषज्ञ सेवा र परीक्षण सञ्चालन गर्दै गएपछि अहिले पश्चिम नेपालका अधिकाँश क्यान्सर रोगका विरामीलाई उपचारका लागि चितवन, काठमाडौं र भारत जाने वाध्यता समाप्त भएको छ ।

नवनिर्वाचित कार्यसमितिको आइतवार साँझ पहिलो बैठक बसी विभिन्न निर्णय गरेको बताउँदै महासचिवमा ई. विवेक लामिछानेले तीन वर्षे कार्यकाल भित्र गर्ने कार्ययोजना बनाएरै अघि बढ्ने जानकारी दिनु भयो ।


error: यो सुविधा उपलब्ध छैन !