बेरुजु असुल गर्दै काेहलपुर नगरपालिका

कोहलपुर – काेहलपुर नगरपालिकाले ४३ करोड बढी रुपैयाँ बेरुजु असुल गर्ने प्रक्रियालाई अगाडि बढाएको छ ।

नगरपालिका स्थापना भएको २०७३ सालदेखि गत आर्थिक वर्षसम्म नगरपालिकाको ४३ करोड ६६ लाख, ३२ हजार ७८६ रुपैयाँ बेरुजु छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार  नियमित गर्नुपर्ने बेरुजु  ३६ करोड ४२ लाख १० हजार ७३७, असुल उपर गर्नुपर्ने बेरुजु १ करोड ४३ लाख ७८ हजार ७४४ र म्याद नाघेको पेश्की बेरुजु ५ करोड ८० लाख ४३ हजार ३०५ रहेको छ ।

विभिन्न पदाधिकारी, निर्माण व्यवसायी, व्यापारी, विद्यालय, गैरसरकारी संस्थाहरु र शाखा-उपशाखा तथा कर्मचारीहरुको नाममा रहेको असुल उपर हुनुपर्ने १ करोड ४३ लाख ७८ हजार ७४४ असुलउपरका लागि ३१४ जना व्यक्ति तथा संस्थाहरुलाई तत्काल बेरुजु फर्छ्यौट गर्न पत्र काटिएको छ ।

सुशासनको प्रत्याभूति नगरवासीलाई गराउने उद्देश्यले गत आर्थिक वर्षको अन्त्यदेखि बेरुजु फर्छ्यौट गर्ने कार्यमा नगरपालिका सक्रिय भएर लागेको नगरपालिकाले जनाएको छ । नगर प्रमुख पूर्णप्रसाद आचार्यद्धारा हस्ताक्षरित विज्ञप्तीमा बेरुजु फर्छ्यौटमा कडाइ गर्न कर्मचारीहरुलाई निर्देशन दिइएको पनि उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ–‘हाल सम्म ५५ प्रतिशत बेरुजु नियमित गरिएको छ । यस आर्थिक वर्षको अन्त्यसम्म ७५ प्रतिशत बेरुजु फर्छ्यौट गर्ने लक्ष्य निर्धारण गरिएको र उक्त बेरुजु फर्छ्यौटको लागि कर्मचारीहरुलाई सक्रियतापूर्वक लाग्न कडा निर्देशन दिइएको छ ।सस्थागत सुधारका लागि बेरुजु असुल पनि एक हो । सुशासन र जवाफदेहिता हाम्रो प्रमुख संकल्प हो नगर प्रमुख आचार्यद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ–‘हाम्रो यस संकल्पमा आआफ्नो ठाउँबाट सहयोग गरिदिन हुन  सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु ।


error: यो सुविधा उपलब्ध छैन !