सुविधा थप्दै क्यान्सर अस्पताल

नेपालगञ्ज – बाँकेको खजुरा गाउँपालिका वडा नं. ७ मा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विरामी आउने गर्दछन् । तीन प्रदेशको क्यान्सर अस्पताल यो मात्रै हो । नारायणी नदी पश्चिमका जनतालाई यो अस्पतालले सेवा दिइरहेको छ ।
सय बेडको संरचनागत स्वीकृति भएको अस्पतालमा अहिले ५७ बेड रहेको छ । आइसीयु निर्माण गरिसकिएको छ । क्यान्सर विरामीका लागि अतिआवश्यक पर्ने लिन्याक मेसिन जडान भइरहेको छ । ब्राकीथेरापी मेसिनले काम गरिरहेको छ । क्यान्सरका विरामीलाई चितवनको भरतपुर, काठमाडौं या भारतको विभिन्न शहरमा जानु पर्ने बाध्यता हट्दै गएको छ ।
२०६२ मंसीर २७ गते प्रखर परोपकार मिसन नेपालको स्थापना गरेर २०६४ बैशाख १७ गते महामण्डेश्वर प्रखर महाराजाट अस्पताल भवनको शिलान्यास भएको थियो । २०६५ माघ ११ देखि १७ गतेसम्म धनधान्याञ्चल महायज्ञ सञ्चालन गरेर त्यसबाट संकलन भएको रकमले अस्पतालको शुरुवात गरिएको थियो । २०७४ असार ११ गते तत्कालिन स्वास्थ्यमन्त्री उपेन्द्र यादवबाट ओपीडीको उद्घाटन गरिएकोमा २०७७ मंसीर ५ गते अस्पतालको आफ्नै अप्रेसन थिएटरमा अप्रेसन सेवाको शुरुवात गरिएको थियो ।
अस्पतालले आर्थिक वर्ष २०७९÷८० मा ७ सय ३१ जनाको अप्रेसन गरेको छ । अघिल्लो वर्ष अस्पतालले ७ सय २० जनाको अप्रेसन गरेको थियो ।
ओपीडीमा आउने विरामीको संख्या पनि बढ्दोक्रममा रहेको छ । २०७९ साउन १ गतेदेखि २०८० असार ३१ गतेसम्ममा २९ हजार २ सय ५५ जनाले सेवा लिएका छन् । यो तथ्यांक जनरल सेवा बाहेकको हो । अघिल्लो वर्ष जनरल विरामीसहित २९ हजार ९ सय १६ जनालाई सेवा दिइएको थियो । अस्पताललाई क्यान्सर केन्द्रित गर्दै लगिएको छ ।


कार्यकारी निर्देशकमा डा.भट्टराई आएपछि धेरै परिवर्तन
कन्सल्टेन्ट कार्डियोथोरासिक एण्ड भाष्कुलर सर्जन डा. निरज भट्टराई निमित्त कार्यकारी निर्देशक भएर आएपछि अस्पतालमा धेरै परिवर्तन भएको छ । सेवा र सुविधा, संरचना थपिएका छन् ।
२०७९ असोज २७ गते डा. भट्टराई कार्यकारी निर्देशक भएका थिए । अस्पतालमा पोजेटिभ प्रेसर आइसीयु सेवा शुरु भएको छ । रक्त क्यान्सरको विरामीका लागि बेग्लै हेमाटो अन्कोलोजी वार्ड सञ्चालन भएको छ । स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा भारतीय दुताबासबाट एक थान स्टाफ बस, अर्थमन्त्रालयसँगको समन्वयमा भन्सार विभाग नेपालगञ्जबाट एक थान जीप प्राप्त भएको छ ।
स्वास्थ्य सेवा विभागसँगको समन्वयमा पश्चिम नेपालमै पहिलो अफेरिसिस मेसिन ल्याई सेवा शुरु गरिएको छ । चौविसै घण्टा ल्याब तथा एक्सरे सेवा दिइएको छ । सुरक्षालाई दृष्टि गरी अस्पताल परिसरमा हाइमाष्ट लाइन जडान गरिएको छ । गरीव, असहाय तथा विपन्न विरामीका लागि निशुल्क उपचार एवं १० प्रतिशत बेड छुट्याइएको छ । अनलाइन अपोइन्टमेन्ट र अनलाइन रिपोर्ट डेलिभरी सेवा शुरु गरिएको छ ।
निर्देशक डा. भट्टराईको दौडधुपले नेपाल सरकारबाट प्राप्त भएको बजेटबाट खरिद प्रक्रिया शुरु भएको लामो समयपछि प्राविधिक तथा प्रक्रियागत जटिलताको बीचमा स्वास्थ्य मन्त्रालयको सहयोगमा भन्सारमा अड्केको लिन्याक मेसिन अस्पतालमा ल्याएर जडान भइरहेको छ । यो मेसिन जडान भइसकेपछि दिनमा सय जनालाई सेक्न सकिन्छ । अस्पताल, खजुरा गाउँपालिका तथा रेडक्रसको समन्वयमा अस्पताल परिसरमा ब्लड बैंक स्थापना गरी सञ्चालनको तयारी गरिएको छ । करिव २० वर्षदेखि वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर तथा पाटन अस्पताल, ललितपुरलाई फोक्सो, कलेजो, मृगौला, ब्लड क्यान्सर लगायतका क्यान्सरका औषधीहरु निशुल्क उपलब्ध गराउदै आएको द म्याक्स फाउण्डेसनलाई सो सुविधा यस अस्पतालमा पनि शुरुवात गर्न पहल गरिएको छ । त्यसका लागि स्थलगत भ्रमणमा आएर म्याक्स फाउण्डेसनले निशुल्क औषधी प्रदान गर्नका लागि प्रक्रिया अगाडि बढेर अन्तिम चरणमा पुगेको छ । चाइल्डहुट क्यान्सरका लागि डब्लुएचओ को शेयर्ड केयर सेन्टरको रुपमा तोकिएको यो अस्पतालमा बाल क्यान्सर रोगको उपचार अगाडि बढाउने गरी प्रक्रिया अगाडि बढेको निर्देशक डा. भट्टराईले जानकारी दिए ।
निर्देशक डा. भट्टराईका अनुसार, लायन्स क्लव तथा अस्पतालको सहकार्यमा निर्माण हुँदै गरेको प्रशामक सेवा भवनको काम विगतमा रोकिएको अवस्थामा हाल काम अगाडि बढेर अन्तिम चरणमा रहेको र निकट भविष्यमै हस्तान्तरण तथा सञ्चालनमा आउने तयारीमा रहेको छ । यो भवन १६ कोठे रहेको छ । नेपालगञ्ज उपमहानगरपालिका तथा कोहलपुर नगरपालिकालाई अस्पतालको गेटसम्म सार्वजनिक यातायातकोे व्यवस्था गरिदिन पहल गरिएको छ । अस्पतालका लागि विद्युतको छुट्टै फिडर मागिएको छ । लुम्बिनी प्रदेश सरकारसँग ल्याब तथा फार्मेसी भवन र दुई वटा इलेक्ट्रिकल सटल बसको व्यवस्थाका लागि पहल भएको छ । स्वास्थ्य मन्त्रालयको समन्वयमा अमेरिकी राजदुताबाससँग लिक्वीड अक्सिजन कन्टेनरको लागि अनुरोध गरेकोमा स्थलगत अनुगमन भई प्रक्रिया अघि बढेको छ । क्यान्सरका विरामीलाई सहुलियत दरमा खाना खुवाउने कार्यका लागि पहल भइरहेको छ । अस्पतालको प्रचार प्रसार र जनचेतनाका लागि पश्चिम नेपालका विभिन्न जिल्लामा शिविर सञ्चालन गरिएको छ ।


अस्पतालको मुख्य समस्या
अस्पतालमा स्थायी दरबन्दी नहुनु ठूलो समस्याको रुपमा रहेको छ । अस्पतालले काज र करारमा रहेका डाक्टर, कर्मचारीबाट सेवा दिइरहेको छ । अस्पतालमा १५ जना विशेषज्ञ डाक्टर छन् । १० जना थप माग गरिएको छ । मेडिकल अफिसर ५ जना रहेकोमा ६ जना थप मागिएको छ ।
अस्पतालमा करारमा अधिकृतस्तरका ४५ जना रहेका छन् । २७ जना थप माग गरिएको छ । सहायकस्तरका ५८ जना दरबन्दी रहेको छ । ३४ जना थप मागिएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. भट्टराईले काजमा भएपनि तत्काल २०÷२५ जना चिकित्सक पठाइदिनु पर्ने बताए । २५ करोड बजेट परेको यो अस्पतालको भवनहरु पुराना भएकाले ठूलो पानी पर्दा चुहिने भएका छन् ।
यसो गर्दा राम्रो
कार्यकारी निर्देशक डा. भट्टराईले संघ र प्रदेशले दिने सहयोगलाई छोडेर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले क्यान्सरका विरामीलाई सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गरेमा थप ५० हजारको सुविधा दिने व्यवस्था गर्नुपर्ने बताए । यसो गर्दा यी प्रदेशका विरामी काठमाडौं, चितवन र भारतका विभिन्न शहरमा जान छोड्छन् भने अस्पताल पूर्ण क्षमतामा सेवा दिन सक्ने गरी सञ्चालन हुनेछ ।
क्यान्सरका विरामीलाई संघ, प्रदेश र स्थानीय तहबाट सुविधा दिने गरिन्छ । संघले विपन्न र बिमामा गरेर दुई लाख दिन्छ । प्रदेश र स्थानीय तहले सहयोग गर्छन् । प्रदेश अनुसार यो सुविधा फरक फरक रहेको छ । लुम्बिनी प्रदेशले दुई लाख दिन्छ भने बागमतिले ५० हजार दिने गरेको छ । स्थानीयमा खजुराले ५ हजार दिने गरेको छ ।
डा. भट्टराईका अनुसार, एक जना क्यान्सर पीडितले अस्पताल पुग्न सरदर २ सय ६२ किलोमिटर यात्रा गर्नु पर्दछ । सरकारले दिएको सहुलियतको ८० प्रतिशत रकम यातायात र खानामा खर्च हुने गर्दछ ।
नेपाल एयरलायन्सले क्यान्सरका विरामीलाई भारतमा उपचार गर्न जादा पहिलो पटकमा सय प्रतिशत, दोस्रो पटक ५० प्रतिशत र तेस्रो पटक २५ प्रतिशत तथा विरामीसँगै जाने कुरुवालाई करिव ५० प्रतिशत छुट हवाई टिकटमा दिने गरेकोमा सो सेवा हुम्ला, जुम्लालगायतका विकट जिल्लाबाट नेपालगञ्ज वा नेपालका अन्य कुनै अस्पतालमा उपचार गर्न आउदा दिन सकेमा क्यान्सरका विरामीलाई ठूलो राहत मिल्ने डा. भट्टराईको भनाई छ ।


error: यो सुविधा उपलब्ध छैन !