क्यान्सर अस्पतालकाे साधारण सभा हुँदै


नेपालगञ्ज – खजुरास्थित प्रखर परोपकार मिसन नेपालको ११ औं साधारण सभा साउन ८ गते सोमबारका दिन आयोजना गरिंदैछ ।

पश्चिम नेपालकै पहिलो सुविधा सम्पन्न क्यान्सर अस्पतालका प्रेरणा प्रदान गर्ने भारतका प्रसिद्ध महात्मा महामण्डलेश्वर स्वामी प्रखरजी महाराजको प्रमुख आतिथ्य र अस्पतालका संकल्पकर्ता दीन दयालजी महाराजको विशिष्ठ आतिथ्यमा उक्त साधारण सभा हुन लागेको हो ।
बांके जिल्लाको ऐतिहासिक क्षेत्र खजुरा र आसपासका आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित सर्वसाधारण जनताको आवश्यकतालाई दृष्टिगत गरी चिरकालसम्म स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने अभिप्रायबाट प्रेरित भई प्रखर परोपकार मिसन नेपालको २०६२ सालमा विधिवत दर्ता गरी प्रखर परोपकार मिसन क्यान्सर अस्पताल प्रस्तावित गरिएको थियो ।

स्थानीय नागरिक अगुवा किस्मतकुमार कक्षपतिको अध्यक्षतामा विशुद्ध मानव सेवा र नाफारहित गैरसरकारी संस्थाको रुपमा स्थापित सो संस्थाद्वारा प्रस्तावित ‘मिसन क्यान्सर अस्पताल’ तत्कालीन समयमा नेपालकै लागि नितान्त नयां अवधारणा हो र भारतको प्रसिद्ध प्रखर परोपकार मिसन ट्रष्टमा आवद्ध पनि भएको छ । उक्त संस्थाका संस्थापक उपाध्यक्ष शिवराज श्रेष्ठ, सचिव शरण कर्माचार्य, कोषाध्यक्ष भक्त बहादुर के.सी. लगायत समितिमा विभिन्न क्षेत्रका व्यक्तित्वहरु रहनु भएको थियो ।
विशेषगरि आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित यस क्षेत्रका गरीब, असहाय, पिछडिएका निमुखा जनतालाई स्वास्थ्य सेवा सुलभ ढङ्गबाट उपलब्ध गराउनको लागि संस्थाका संरक्षक सन्तश्री दीन दयालजी महाराजको संकल्प र छिमेकी मित्रराष्ट्र भारतका विश्वनाथ धामका पीठाधीश तपोमूर्ति अनन्त विभूषित महामण्डलेश्वर १००८ स्वामी प्रखरजी महाराजको प्रेरणाबाट २०६४ वैशाख १७ गते स्वामी प्रखरजी महाराजबाटै अस्पतालको शिलान्यास गरिएको अध्यक्ष कक्षपतिले बताउनु भयो । सो क्यान्सर अस्पताल भारतको प्रखर परोपकार मिसन ट्रष्टमा पनि आवद्ध भएको छ ।
बांके जिल्लाको तत्कालीन क्षेत्र नं. ४ अन्तर्गत पश्चिमी भेग र बर्दिया जिल्ला मात्र होइन भारतीय सिमावर्ती स्वास्थ्य सेवाबाट बञ्चित जनताको लागि समेत स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले पुरानो विमानस्थल स्थित ४ बिगाहा क्षेत्रफलको ५ हजार स्क्वायर मिटर क्षेत्रफलको जमीनमा निर्माण गरिएको अस्पताल भवनमा क्यान्सर रोगको विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको छ ।
भारतका प्रसिद्ध सन्त महामण्डलेश्वर प्रखरजी महाराजको प्रेरणा  र क्यान्सर अस्पतालका संकल्पकर्ता तथा संरक्षक हिन्दू धर्मका अग्रणी व्यक्तित्व सन्तश्री दीनदयालजी महाराजको अग्रसरता तथा प्रखर परोकार मिसन नेपालका अध्यक्ष किस्मत कुमार कक्षपतिको नेतृत्वमा आयोजित ‘मिसन क्यान्सर अस्पताल’ निर्माणको लागि खजुरामा २०६५ माघ ११ गतेदेखि १९ गतेसम्म “वाचन प्रवीण” कथा वाचक पं. श्री दीनबन्धु पोखरेलद्वारा वाचन गरिएको “श्रीमद्भागवत् वृहद् धन धान्याञ्चल ज्ञान महायज्ञ” मा प्राप्त करीब ५ करोड नगद, जग्गा तथा जिन्सी सहयोग र नेपाल सरकारको अनुदानबाट सुविधा सम्पन्न अस्पताल भवन निर्माण भएको हो ।
उक्त श्रीमद्भागवत् वृहद् धन धान्याञ्चल ज्ञान महायज्ञको तयारी र व्यवस्थापनका लागि २०६५ पुस ५ गते सम्पन्न बांके र बर्दिया जिल्लावासीहरुको वृहद् भेलाले ५ हजार १ सदस्यीय मूल सम्पादन समिति तथा विभिन्न उपसमितिहरु गठन गरेको थियो । सो समितिको संयोजक उद्योगपति केदारलाल श्रेष्ठ, सह संयोजक राजेन्द्र उपाध्याय, महासचिव वरिष्ठ पत्रकार पूर्णलाल चुके, सहमहासचिव मानबहादुर भण्डारी र कोषाध्यक्ष गोपाल तिवारी रहनु भएको थियो ।
त्यसैगरि संस्थाका अध्यक्ष किस्मतकुमार कक्षपतिको अध्यक्षतामा १५ सदस्यीय निर्देशन समिति पनि गठन गरिएको थियो ।
नेपाल अधिराज्यमै नमूनाको रुपमा स्थापना गर्ने अवधारणा अनुरुपको सो अस्पतालको निर्माण प्रखर परोपकार मिसन नेपालका तत्कालीन कार्यसमितिका सम्पूर्ण पदाधिकारी, सदस्य तथा सल्लाहकारहरुको सक्रिय सहयोगमा सम्पन्न भएको थियो भने सबै राजनीतिक दलहरु एक ढिक्का भएर जुटेका थिए ।
यसैवीच पश्चिम नेपालकै एक मात्र उक्त क्यान्सर अस्पताल विकास समितिका वर्तमान अध्यक्ष टेकेन्द्र मल्लका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले आइतबार एम्बुलेन्स र स्कुल बसको साँचो काठमाडौंमा अध्यक्ष मल्ल र अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. निरज भट्टराईलाई हस्तान्तरण गरेका हुन् । हाल अस्पतालमा कार्यकारी निर्देशक तथा कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन तथा क्यान्सर रोग विशेषज्ञ डा. निरज भट्टराई कार्यरत हुनुहुन्छ ।
अस्पताललाई छिमेकी मित्रराष्ट्र भारत सरकारले एउटा एम्बुलेन्स र बस प्रदान गरेपछि अस्पतालमा आफ्नै एम्बुलेन्स सेवा र बस सेवा सञ्चालन हुने भएको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. भट्टराईले एम्बुलेन्स र बसको अभावमा नेपालगञ्जदेखि आठ किलोमिटरको दुरी पश्चिममा रहेको सो अस्पतालमा आउने विरामीले ठूलो समस्या भोगिरहेकोले यो सेवा शुरु भएपछि अब समस्याबाट मुक्त भई सहज र सरल हुने विश्वास व्यक्त गर्नुभएको छ ।

अस्पताल पुग्ने विरामीलाई सार्वजनिक यातायातको विकल्पका रुपमा स्वास्थ्य मन्त्रालयको समन्वयमा भारत सरकारले एम्बुलेन्स र बस सहयोग उपलब्ध गराएको अध्यक्ष मल्लले बताउनु भयो ।
प्रखर परोकार मिसन नेपाल र नेपाल सरकारको अनुदानमा करीब ३० करोड रुपैयाँको लागतमा निर्मित उक्त अस्पताल २०७२ सालमा नेपाल सरकारलाई स्वामित्व हस्तान्तरण गरेपछि सङ्घीय सरकारको मातहतमा सञ्चालन हुँदै आएको छ ।
अस्पतालले क्रमशः क्यान्सर रोगको उपचारका लागि विभिन्न प्रकारका विशेषज्ञ सेवा र परीक्षण सञ्चालन गर्दै गएपछि अहिले पश्चिम नेपालका अधिकाँश क्यान्सर रोगका विरामीलाई उपचारका लागि चितवन, काठमाडौं र भारत जाने वाध्यता समाप्त भएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष मल्लले पछिल्लो समयमा क्यान्सर अस्पतालले सञ्चालन गरेका विभिन्न अति आवश्यक सेवा र सुविधाबाट पश्चिम नेपालको तीन वटा प्रदेशका सयौं विरामी लाभान्वित भइरहेको बताउनु भयो ।


error: यो सुविधा उपलब्ध छैन !