महासंघमा सदस्य स्थानान्तरणकाे बिरोध, आन्दोलनकाे चेतावनी

नेपालगञ्ज – नेपाल पत्रकार महासंघ बाँकेमा १३ जना थप सदस्य स्थानान्तरण गरिएकोप्रति जिल्लास्थित विभिन्न आस्थागत संगठनले बिरोध जनाएका छन् ।

महासंघ केन्द्रले गत बैशाख २५ गते जिल्ला शाखा बाँकेको हाल कायम सदस्य संख्याभन्दा धेरै अर्थात १३ जना सदस्य थप गरेर पठाएको थियो । महासंघ बाँके शाखालाई बिहीबार संगठनका अध्यक्षहरुले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाउँदै गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् ।

गैरपत्रकारलाई सदस्य बनाएर ल्याउन खोजिएको जानकारी पाएपछि यसअघि गत पुसमा पनि प्रेस युनियन बाँके, प्रेस चौतारी लगायत संगठनले छुट्टा छुट्टै ध्यानाकर्षण पत्र महासंघ बाँके शाखालाई बुझाएका थिए । ‘नियोजित ढंगबाट काठमाण्डौंका एशोसिएट शाखाबाट हुलका हुल सदस्य बाँके शाखामा स्थानान्तरण गरिएको बिषय बिवादित बनेको थियो, ती सदस्यलाई नेपाल पत्रकार महासंघ बाँके शाखाले अस्वीकार समेत गरेको अवस्था छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ‘गत पुष २३ गते सम्पन्न १३ औं साधारण सभामा समेत सामुहिक तरिकाले सदस्यता स्थानान्तरण गरेको लगायतका विषयको उठान भएपछि विवाद समाधानका लागि साधारणसभाले सर्बसम्मत रुपमा विवाद समाधान समिति गठन गरेको सर्बवितितै छ ।’

जिल्लामा सदस्यताको बिषय बिवादित बनिरहेको अवस्थामा केन्द्रले १३ जना सदस्य थप गरी नाम सार्बजनिक गरेको कार्यले अचम्मित बनाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् । ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘देशभर उत्साहजनक तरिकाले सदस्यता शुद्धिकरण अभियान सञ्चालन भइरहेको परिप्रेक्ष्यमा बाँके जिल्लाका हकमा बिवादित बनेको बिषयलाई केन्द्र र प्रदेश समितिले जबरजस्ती थोपार्ने काम गरेको हाम्रो ठहर छ ।’ बिवादित बनेका सदस्यहरुको नामावली हटाई तत्काल यसअघिको साधारणसभाले समेत पारित गरेका ३ सय २३ जना सदस्यहरुको मात्रै नामावली तत्काल सार्बजनिक गरी शुद्धिकरण अभियान, नयाँ सदस्यता वितरण र नवीकरण जस्ता कामहरु अघि बढाउन अनुरोध अनुरोध गरिएको छ ।

काठमाडौंका एशोसिएट शाखामा गैरपत्रकारलाई सहज तरिकाले सदस्यता दिने र एकमुष्ट रुपमा उनीहरुलाई जिल्ला शाखामा स्थानान्तरण गरेर महासंघ जिल्ला शाखालाई ‘भोट बैंक’ बनाउने जस्ता गतिबिधिलाई प्रोत्साहित नगर्न संगठनहरुले आह्वान पनि गरेका छन् । अन्यथा चरणबद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ ।

पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, प्रेस चौतारीका अध्यक्ष दुर्गा रोकाय, प्रगतिशील पत्रकार संघका जिल्ला संयोजक तिलक गाउँले र समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्माले उक्त ध्यानाकर्षण पत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्रमा पत्रकार महासंघ केन्द्रीय समिति र काठमाण्डौं र महासंघ लुम्बिनी प्रदेश समितिलाई बोधार्थ दिइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !