विद्युत अवरुद्ध हुन थालेपछि खजुरामा आन्दोलनको तयारी


खजुरा – गर्मीयाम सुरुभएसँगै बाँकेको खजुरा क्षेत्रमा लगातार विद्युत अवरुद्ध गरिएको भन्दै स्थानीयले विद्युत प्र्रधिकरण विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । बिना सूचना घण्टौंसम्म विद्युतको सप्लाई बन्द गरिने र चालु रहँदा पनि पटक पटक आउने जाने गरेको भन्दै स्थानीयले आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

खजुरा क्षेत्रको अगुवा संस्था खजुरा क्षेत्र संरक्षण समितिले आज प्राधिकरणको खजुरा शाखा मार्फत ज्ञापन पत्र बुझाउँदै  बिना सूचना विद्युत सप्लाई अवरुद्ध नगर्न माग गरेको छ । नेपालगञ्ज वितरण केन्द्रलाई सम्बोधन गरेर बुझाइएको ज्ञापनपत्र समितका अध्यक्ष प्रेम बुढाथोकीले खजुरा शाखाका प्रमुख कृष्णप्रसाद पौडेललाई हस्तान्तरण गरेका थिए ।

क्षेत्र संरक्षण समितिले बुझाएको ज्ञापनपत्रमा खजुरा क्षेत्रलाई विद्युत सप्लाईमा पक्षपात गर्ने र अवहेलना गर्ने गरिएको उल्लेख गरिएको छ । ‘खजुरा बजारको पेडारी नाला पश्चिम क्षेत्रलाई मैनापोखराबाट विद्युत सप्लाई गर्ने गरिएदेखि लगातार अनियमितता हुने गरेको र लगातारको विद्युत अवरुद्धका कारण ४४ डिग्री बढी तापक्रममा स्थानीयले सास्ती खेप्न बाध्य हुनु परेको छ । भोल्टेजको गडवडीका कारण विद्युतिय उपकरणहरु सर्ट हुने, आगलागी हुने जस्ता घटनाहरु पनि हुने गरेका छन्,’ ज्ञापन पत्रमा लेखिएको छ ।

ज्ञापनपत्रमा विद्युत सप्लाई अवरुद्ध भए लगत्तै खजुरास्थित विद्युत कार्यालय प्रमुख कृष्णप्रसाद पौडेलको मोबाईलको स्वीच अफ हुने, कार्यालयको ०८१५६००५२ नउठ्ने तथा विद्युत उपभोक्तालाई सूचनाबाट समेत बन्चित राख्ने गरिएको उल्लेख गरिएको छ ।

समितिले विना कारण र विना अग्रीम सूचना विद्युत सप्लाई बन्द नगर्न प्राधिकरणलाई आग्रह गर्दै अवका दिनहरुमा पनि विना सूचना र विना कारण विद्युत सप्लाई अवरुद्ध गर्ने र उपभोक्तालाई विद्युत नहुनुको कारण समेत जानकारी नदिने कार्य भएमा क्षेत्र संरक्षण समितिको अगुवाईमा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ ।

समितिका अध्यक्ष प्रेम बुढाथोकि सहितको पदाकिारीले आजै स्थानीय खजुरा गाँउपालिका पुगेर लगातारको विद्युत अवरुद्ध हुने गरेको प्रति स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ ।


error: यो सुविधा उपलब्ध छैन !