बेपत्ता परिवार भन्छन् : ‘परिपुरण’ भए ‘माफी’ दिन्छौं

नेपालगञ्ज – २१/२२ वर्षदेखि आफन्तीको सास र लाशको माग गर्दै आन्दोलन गरिरहेका बेपत्ता परिवारले ‘परिपुरण र स्मृतिकरण’ भए ‘माफी’ दिने बताउन थालेका छन् ।

सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका आफन्तीको खोजीमा जीवन बिताएका बेपत्ता परिवारले राज्यले परिपुरण र बेपत्ताको नाममा स्मृति, चोक या सडकको नामाकरण गरिदिए हत्या नै भएपनि माफी दिने बताएका हुन् ।

बर्दिया जिल्ला राजापुर नगरपालिका वडा नं. २ का रविना चौधरीले बेपत्ता श्रीमान क्रिमकुमार चौधरीको नाममा चोकमा शालिक या सडकको नामाकरण गरेर परिपुरण भए बेपत्ता मार्नेलाई माफी दिने बताउनुभयो ।

रविनाको घट्नाक्रम यस्तो थियो ।
बर्दिया जिल्ला राजापुर नगरपालिका वडा नं. २ की रविना चौधरीको श्रीमान क्रिमकुमार चौधरीलाई २२ वर्ष अघि सुरक्षाकर्मीले बेपत्ता बनायो । २०५८ फाल्गुन २३ गते नेपालगञ्जमा पढ्न बसेका चौधरीलाई अपरान्ह ४ बजेतिर बेपत्ता बनाइएको थियो ।

यत्तिका वर्षसम्म चौधरीको सास र लाशको ठेगान छैन । रविनाको बिहे भएको एक वर्षमै श्रीमानलाई बेपत्ता पारिएको थियो । श्रीमानको खोजीमा रविनाको दौडधुप धेरै भयो । रविना जानु पर्ने सबै निकायमा पुग्नुभयो । आन्दोलनहरुमा हिड्नु भयो । श्रीमानको खोजी र न्यायका लागि घरबाहिर निस्किदा घरपरिवारले तल्लोस्तरको लाल्छना लगाउन थाले ।

राज्यले बेपत्ता परिवारलाई किस्ता–किस्तामा दश लाख रुपैया दियो । त्यो रकमले रविनाले १० कठ्ठा जग्गा किन्नुभयो । राजापुरकै १० नम्बर वडामा माइती नजिकै १० धुर पनि किन्नुभयो । अहिले त्यही घर बनाएर रविना एक्लै बस्नु भएको छ ।

रविनाले टेलरिङ गर्नुहुन्छ । सिलाई कटाई तालिम लिएर रविना टेलर्स सञ्चालन गरेपछि राम्रो कमाई भएको छ । कपडा सिलाउनुका साथै रविनाले सिलाई कटाई तालिम सिकाउनु हुन्छ । राजापुर नगरपालिकाले बेपत्ता परिवारलाई दिने मासिक दुई हजार भत्ता पनि पाइरहनु भएको छ । रविना राजापुर नगरपालिकाको बेपत्ता परिवार नगर समितिको उपाध्यक्ष हुनुहुन्छ । बेपत्ता परिवारको अधिकारका लागि स्थानीय निकायमा पैरवी गरिरहनु भएको छ ।

राजापुरकै सुजन थारुको बुवा राजकुमार थारुलाई राज्य पक्षले बेपत्ता बनाएको छ । +२ पास गरेका सुजनले पनि परिपुरण र बुवाको नाममा सम्झनालायक काम गरिदिए बेपत्ता पार्नेलाई माफी दिने बताउनुभयो ।

सुजनले त्यो दिन यसरी सम्झिन्छन् ।
२०५९ कात्तिक ३ गते घरमै सुतिरहेको बेला राती १ बजे बुवा राजकुमारलाई सुरक्षाकर्मीले लगेका थिए । बुवालाई सुरक्षाकर्मीले लैजादा सुजन ५ वर्षका थिए । उनले त्यो कुरा अलिअलि थाहा पाउँछन् । ‘बुवालाई लैजादा हामी उठेका थियौ । सुरक्षाकर्मीले सबै परिवारको छातीमा बन्दुक तेर्साएको थियो, सुजनले थप्नुभयो, त्यसपछि बुवा फर्किनु भएको छैन ।

श्रीमानलाई बेपत्ता बनाएपछि सुजनकी आमा खोजतलासमा लाग्नुभयो । घरबाहिर निस्किदा घरपरिवारले विभिन्न लाल्छना लगाए । सरकारले बेपत्तालाई दिएको राहतको रकमले सुजनका परिवारले ७ कठ्ठा जग्गा किनेका छन् । मेहनत, मजदुरी गरेर आमाले सुजनलाई +२ सम्म पढाउनुभयो । ब्याचलर पढ्दै गरेका सुजन मनोसामाजिक परामर्श दाता पनि हुन् ।

रविना र सुजनको भनाई छ, ‘हाम्रो मान्छे कहाँ छ भन्ने सत्य कुरा बताउनु पर्छ । हत्या नै गरिसकेको भएपनि हामीलाई परिपुरणको व्यवस्था गरेर बेपत्ता मान्छेको नाममा स्मृति भवन, बाटो, चोकको नामाकरण गरिदिए हामी क्षमा दिन्छौं ।’

नेपालमा द्वन्द्वपीडितको सत्यतथ्य छानबिन गर्न सत्य निरुपण तथा बेपत्ता आयोग बनाइएको थियो । आयोगमा ६३ हजार बढी उजुरी परेका छन् । आयोगले काम गरेर न्याय दिन्छ भन्नेमा पीडित नै विश्वस्त हुन सकेका थिएनन्, छैनन् ।

पूर्वमन्त्री एवं मानव अधिकारको वकालत गरिरहेका गोविन्द बन्दीले शान्ति प्रक्रियालाई अनावश्यक लम्ब्याइएको बताउनुभयो । बन्दीको भनाई थियो, ‘नेता र सेना झस्किदा शान्ति प्रक्रिया टुंगिएको छैन । उनीहरु झस्किनु पर्दैन । गम्भीर अपराध गरेकालाई कारबाही गर्नुपर्छ । मिल्ने जतिलाई मिलाउनु पर्छ ।’

परिपुरणलाई अधिकारको रुपमा अगाडि ल्याएको उल्लेख गर्दै भन्दै बन्दीले ६३ हजार उजुरीमध्ये राम्ररी छानबिन गर्ने हो भने तीन हजार मात्रै अनुसन्धान गर्नुपर्ने बच्ने बताउनुभयो । उहाँले धेरै निवेदन नेताहरुले अनावश्यक हाल्न लगाएको टिप्पणी गर्नुभयो ।


error: यो सुविधा उपलब्ध छैन !