लोकतन्त्र दिवसमा दीप प्रज्वलन

नेपालगञ्ज – नेपाली कांग्रेस, बाँकेले लोकतन्त्र दिवसमा दीप प्रज्वलन गरेको छ । नेपालगञ्जस्थित वीपी चोकमा आज साँझ दीप प्रज्ज्वलन गरिएको हो । १७औँ लोकतन्त्र दिवसमा कांग्रेस बाँकेले ०६२/६३ को लोकतान्त्रिक आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने सहिदहरुलाई सम्झँदै दीप प्रज्ज्वलन गरेको हो ।

सभापति नारायणप्रसाद गौडेलको सभापतित्व एवम् केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले कांग्रेसको नेतृत्वमा भएको ०६२/६३ को जनआन्दोलनका जगमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापित भएको बताए ।

केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले ०६२/६३ को जनआन्दोलनको बलमा संविधानसभामार्फत बनेको संविधान बमोजिम दुई पटक तीनै तहको निर्वाचन सम्पन्न भई कार्यान्वयन भइरहेको बताए ।

सभापति गौडेलले कांग्रेसको नेतृत्वमा भएको दोस्रो जनआन्दोलन पश्चात सामान्य जनताको छोरा वा छोरी मुलुकको राष्ट्र प्रमुख वा उपप्रमुख हुने अवस्था बनेको भन्दै अब जनताका आकांक्षालाई सम्बोधन गर्दै राष्ट्र विकास र समृद्धिका लागि पार्टीले गम्भीर ढंगले काम गर्नुपर्ने बताए ।

राष्ट्रिय सभा सदस्य एवम् पूर्व पार्टी जिल्ला सभापति युवराज शर्माले लोकतन्त्र ल्याउन कांग्रेसको नेतृत्वमा भएको आन्दोलनले व्यवस्था परिवर्तन गरेको बताउँदै अब अवस्था परिवर्तनका लागि गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए । पूर्व मन्त्री एवम् पूर्व पार्टी जिल्ला सभापति गजेन्द्रबहादुर हमालले लोकतन्त्र दिवसको सार्वजनिक बिदा हटाएर सरकारले गम्भीर गल्ती गरेको भन्दै दोस्रो जनआन्दोलनको सम्मानका लागि सार्वजजिक विदा दिइनुपर्नेमा जोड दिए । उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए ।

विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्थापना गरेका थिए । जनताको विजय भएको खुसियालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।


error: यो सुविधा उपलब्ध छैन !