सिकलसेल तथा थालेसेमियाका बिरामीको निःशुल्क स्वास्थ्य बीमा  

काेहलपुर – कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/०८१ देखि सिकलसेल तथा थालेसेमियाका बिरामीहरुको निःशुल्क स्वास्थ्य बीमा गरि दिने भएको छ ।
कोहलपुर नगरपालिकाले आज वडा नं. १५ मा आयोजना गरेको सिकलसेल एनिमिया तथा थालेसेमिया रोग सम्बन्धी अभिमुखिकरण कार्यक्रममा नगरपालिकाका उपप्रमुख संगिता सुवेदीले बंशाणुगत यो रोगका बिरामीहरुको नगरपालिकाले निःशुल्क स्वास्थ्य बीमा गरिदिने प्रतिबद्धता जनाउनु भएको हो । ‘आगामी आर्थिक वर्षदेखि सिकलसेल तथा थालेसेमियाका रोगीको निःशुल्क स्वास्थ्य बीमा नगरपालिकाले गर्छ उपप्रमुख सुवेदीले भन्नुभयो–‘उपचार अभावमा कुनै पनि नागरिकले ज्यान गुमाउन नपरोस् भन्ने सवालमा नगरपालिका प्रतिबद्ध छ ।’
उहाँले स्वास्थ्य कोहलपुर नगरपालिकाको पहिलो प्राथमिकता रहेको पनि उल्लेख गर्नुभयो ।
नेपाल सरकारले अहिले सिकलसेलका रोगीलाई उपचार खर्च वापत एक लाख रुपैयाँ दिने गरेको छ । जनस्वास्थ्य समस्याकै रुपमा रहेको थालेसेमियाका बिरामीहरुलाई भने राज्यले उपचार खर्च दिने गरेको छैन । सिकलसेल र थालेसेमियाका बिरामीहरुले बाँचुन्जेल उपचार गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । सिकलसेलका बिरामीलाई सरकारले उपलब्ध गराउने एक लाख रुपैयाँ रकम समेत अपुग हुने गरेको छ ।
कोहलपुर नगरपालिकाले सिकलसेल र थालेसेमियाका बिरामीलाई निःशुल्क स्वास्थ्य बीमा गरेर उपचारको पहुँचमा ल्याउने प्रयास लक्षित समुदायका लागि निकै उपयोगी भएको भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा सिकलसेल विज्ञ डा. राजन पाण्डेले बताउनुभयो । थारु समुदायमा जनस्वास्थ्य समस्याकारुपमा रहेको सिकलसेल तथा थालेसेमियाका रोगीलाई स्वास्थ्य बीमामा समेट्न डा.पाण्डेले नीतिगत पहलको परैवी गर्दै आउनुभएको छ । कोहलपुर नगरपालिकाले सिकलसेल तथा थालेसेमियाका बिरामीहरुको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई कार्यान्वयन गरे पहिलो पालिका हुनेछ ।
कोहलपुर नगरपालिकामा हालसम्म ११ हजार बढीको सिकलसेल तथा थालेसेमिया परीक्षण गर्दा सिकलसेलका ९२ जना रोगी, एक हजार बढी बाहक फेला परेका छन् । त्यसैगरी एक सय ५० जना थालेसेमियाका बाहक फेला परेका छन् ।
कोहलपुर नगरपालिका वडा नं.१५ का वडाअध्यक्ष दिपेन्द्र कुमार चौधरीको सभापतित्वमा भएको कार्यक्रममा सिकलसेल विज्ञ डा पाण्डे, कोहलपुर नगरपालिकाका सामाजिक विकास संयोजक इश्वरी प्रसाद विक, आर्थिक विकास संयोजक अनिता बुढा, स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीलगायतको उपस्थिति रहेको थियो ।

error: यो सुविधा उपलब्ध छैन !