बाँके र बर्दियामा आगलागीसम्बन्धी कृत्रिम घटना अभ्यास, सेनाको अगुवाई

नेपालगञ्ज – बाँके र बर्दिया जिल्लामा आगलागीसम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ ।

जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा गरिएको कृत्रिम घटना अभ्यासको नेपाली सेनाको बज्र्रदलले अगुवाई गरेको थियो ।
बर्दियाको गुलरिया नगरपालिका वडा नं. ४, तुलापुरमा बिहीबार कृत्रिम घटना अभ्यास गरिएको छ । बुधबार नेपालगञ्जको रामलिला मैदानमा उक्त अभ्यास गरिएको थियो ।

बाँके र बर्दियामा तापक्रम बढ्दो छ । यी जिल्लामा गर्मीमा आगलागीका घटना बढी हुने गर्दछ । आगलागीबाट हुने क्षतिलाई न्यूनीकरण गर्न, सरोकारवाला निकायका बीचमा राम्रो समन्वय गराउन, उपलब्ध विपदका उद्धार सामाग्रीको परीक्षण गर्न र उक्त सामाग्री तयारी अवस्थामा रहेको यकिन गर्न कृत्रिम घटना अभ्यास गरिएको छ ।

दुवै जिल्लामा गरिएको कृत्रिम घटना अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र रेडक्रसको सहभागिता रहेको थियो । कृत्रिम घटना अभ्यास कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, रेडक्रससम्बद्धको उपस्थिति थियो ।

बाँके र बर्दियामा भएको छुट्टा छुट्दै कृत्रिम घटना अभ्यास कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य र बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले विपदको क्षति न्यूनीकरण गर्नमा यसप्रकारको समन्वय र अभ्यास प्रभावकारी हुने बताउनु भएको थियो ।

बाँके र बर्दिया जिल्ला हेर्ने नेपालगञ्जस्थित बज्रदल गणका गणपति प्रमुख सेनानी श्याम आत्रेय पौडेलले नेपाली सेनाको अगुवाईमा भएको यस किसिमको अभ्यासले विपदमा प्रभावकारी उद्धार भएर जनधनको क्षति रोक्ने र यस्ता संयुक्त अभ्यासले नागरिक–सैनिक सम्बन्धलाई अझ सुदृढ गराउने बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !