काल्पनिक विमान दुर्घटना तथा उद्धार प्रतिकार्य अभ्यास

नेपालगञ्ज – नेपालगञ्ज विमानस्थलमा  शुक्रबार काल्पनिक विमान दुर्घटना तथा उद्धार प्रतिकार्य अभ्यास भएको छ।

नेपालगञ्ज उपमहानगरपालिका–२०, राँझास्थित नेपालगञ्ज विमानस्थलमा दुर्घटनाबाट हुने क्षति न्यूनीकरण र सरोकार भएका निकायको समन्वयलाई प्रभावकारी तुल्याउने उद्देश्यले काल्पनिक विमान दुर्घटना तथा उद्धार प्रतिकार्य अभ्यास गरिएको नेपालगञ्ज विमानस्थलले जनाएको छ।

विमान दुर्घटना हुँदा गरिनुपर्ने छिटो छरितो उद्धार, क्षति न्यूनीकरण र प्रतिकार्यको काम कसरी गर्ने भन्ने विषयलाई प्राथमिकतमा राखेर कृत्रिम घटना अभ्यास गरिएको नेपालगञ्ज विमानस्थलका प्रमुख सुरेश खनालले जानकारी दिनुभयाे ।

उहांले विमानस्थाल प्रमाणीकरणका लागि दुई/दुई वर्षमा सो कृत्रिम अभ्यास हुने उल्लेख गर्दै त्यसले विमानस्थलको महत्व बढ्ने विश्वास व्यक्त गर्नुभयो। नेपालगञ्ज विमानस्थलमा दुई वर्षअघि पनि यस्तो कृत्रिम अभ्यास भएको थियो।

प्रमुख खनालले काठमाडाैँ, पोखरा, भैरहवा, विराटनगर र नेपालगञ्ज विमानस्थल प्रमाणीकरण भएको जानकारी दिनुभयाे ।

सो अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी, नागरिक उड्डयनका पदाधिकारी, नेपाल रेडक्रस सोसाइटी बाँकेका पदाधिकारी लगायतको सहभागिता थियो।


error: यो सुविधा उपलब्ध छैन !