एमाले बाँकेमा त्रिपक्षीय भिडन्त
नेपालगन्ज – नेकपा एमाले, बाँकेको नेतृत्वका लागि त्रिपक्षीय भिडन्त हुने भएको छ ।
एमालेमा नयाँ नेतृत्व लिनका लागि निवर्तमान अध्यक्ष किस्मतकुमार कक्षपति, उपाध्यक्ष डिल्ली विसी र पूर्वअध्यक्ष निरक गुरुङका बीचमा भिडन्त हुने भएको हो । तिनै जनाले अध्यक्षका लागि उम्मेदवारी मनोनयन गरिसकेका छन् ।
जेठ ४ गते महासचिव शंकर पोखरेलले उद्घाटन गरेको अधिवेशनको बन्द सत्र सकिसकेको छ । सहमतिका लागि अहिले वार्ता भइरहेका छन् । अर्कोतिर निर्वाचनको प्रक्रिया पनि अघि बढिरहेको छ ।
उपाध्यक्षमा दुई जनाको उम्मेदवारी रहेको छ । निवर्तमान सचिव एवं लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्री र युवा संघ हुँदै पार्टीमा आएका रविन्द्र लम्सालले उम्मेदवारी हालेका छन् । उपाध्यक्षमा उम्मेदवारी हालेका इन्द्रबहादुर थापा र सुमन मल्लले फिर्ता लिएका छन् ।
सचिवमा चार जनाले उम्मेदवारी हालेका छन् । दत्तप्रसाद आचार्य, बलराम भट्टराई, भीम वली र खिलप्रसाद भूसालले उम्मेदवारी हालेका हुन् । सहसचिवमा तीन जनाको उम्मेदवारी रहेको छ । दीपक बर्मा, किशोर थापा र सोहन यादव रहेका छन् । महिला सहसचिवमा शारदा विक, निर्मला सुनार, रचना श्रेष्ठको उम्मेदवारी परेको छ ।
एमालेका ४ सय ६८ जना प्रतिनिधि रहेका छन् । अध्यक्ष उम्मेदवारले भित्री रुपमा प्यानल नै बनाएर अघि बढेका छन् । बाहिर सार्वजनिक गरिसकेका छैनन् । केन्द्रबाट किस्मतलाई अध्यक्ष र डिल्लीलाई उपाध्यक्ष बनाउने लाइन आएको अधिवेशन स्थलमा चर्चा चलेको छ । केन्द्रको लाइन पर्खेर बसेका नेताहरु उम्मेदवार परिवर्तनमा लागिसकेका छन् ।