निरक गुरुङ जीत नजिक
नेपालगन्ज – नेकपा एमाले, बाँकेको अध्यक्षमा निरक गुरुङ जीत नजिक पुगेका छन् ।
पार्टीको ९ औं जिल्ला अधिवेशनमा अहिले मत गणना भइरहेको छ । मतगणना अन्तिमतिर पुगिरहदा गुरुङ जीत नजिक पुगेका हुन् । अध्यक्षमा गुरुङ र डिल्ली विसीको प्रतिस्पर्धा रहेको छ । अध्यक्षका अर्का उम्मेदवार किस्मतकुमार कक्षपतिले गुरुङलाई समर्थन गरेपछि गुरुङ बलियो भएका हुन् ।
सहमति हुन नसकेपछि कक्षपतिले गुरुङलाई समर्थन गरेका थिए । ४ सय ६८ मतदातामध्ये ४ सय ५८ मत खसेको छ । निर्वाचन अधिकृत भेषराज बस्नेतले मतगणना अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
अहिलेसम्मको मत गणनाको अवस्था हेर्दा अध्यक्षमा गुरुङ, उपाध्यक्षमा रत्न खत्री, सचिवमा बलराम भट्टराई, सहसचिवमा किशोर थापा र निर्मला सुनारले जित्ने देखिन्छ । फाइनल मत केहीबेरमै आउँदैछ ।