वडा नं. ३ बाट शुरु भयो, हात्तीपाइले रोगविरुद्धको अभियान

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रम शुभारम्भ गरेको छ ।

राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम २०७९ अन्तर्गत वडा नम्बर ३ को वडा कार्यालयमा बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरी औषधी सेवन कार्यक्रम शुभारम्भ गरिएको हो ।

‘हात्तीपाइले विरुद्धको औषधी खाऔंः यो बर्षलाई अब अन्तिम बनाऔं’ भन्ने नाराका साथ अभियान सुरु गरिएको हो । अभियान शुभारम्भ कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य आदेशकुमार अग्रवाल, जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौर, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. बद्री चापागाईं, नेपालगञ्ज मेडिकल कलेजका चिकित्सक डा. रोमन किदवाई, डा. रोमा बोरा लगायतको उपस्थिति थियो ।

कार्यक्रममा उपस्थित अतिथिहरुले औषधि सेवन गरेर अभियानको शुभारम्भ गरेका थिए ।
औषधी शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य अग्रवालले हात्तीपाइले रोग लागिसकेपछि निको नहुने भन्दै यसबाट जोगिन औषधी सेवन गर्नुको विकल्प नरहेको बताउनुभयो ।

जिल्ला समन्वय समिति प्रमुख चौधरीले आफ्नो स्वास्थ्यको लागि दायाँबायाँ नसोचेर निर्धक्कका साथ औषध सेवन गर्न आग्रह गर्नुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख विष्टले अफबाह र हल्लाका पछि नलागेर ढुक्क भएर औषधी सेवन गर्न नेपालगञ्जबासीलाई आग्रह गर्नुभयो । उहाँले आफ्ना बालबालिकालाई दादुरा खोप नलगाउँदा भोगेको दुःख र पीडा सम्झँदै हात्तीपाइलेको औषधी सेवन गर्न आग्रह गर्नुभयो । नगर प्रमुख विष्टले औषधी खाए नखाएको यकिन विवरण राख्न स्वास्थ्य महाशाखालाई निर्देशन समेत दिनुभयो ।

नेपालगञ्ज मेडिकल कलेजका चिकित्सक डा. किदवाईले औषधीको कुनै साइड इफेक्ट नरहेको प्रष्ट पार्दै हात्तीपाइले रोगबाट बच्न ढुक्क भएर औषधी सेवन गर्न आग्रह गर्नुभयो । नेपालगञ्जमा सबैभन्दा कम कभरेज भएको वडा नम्बर ३ बाट अभियान थालिएको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो ।

चन्दका अनुसार, मुस्लिम समुदायको बसोबास रहेको वडा नम्बर ३ मा २१ प्रतिशत मात्र कभरेज रहेको छ । नेपालगञ्जमा हाल साढे चार सयको हाराहारीमा हात्तीपाइलेका रोगी रहेको चन्दले जानकारी दिनुभयो । औषधी सेवन गरेका व्यक्तिहरु पनि औषधि सेवन नगर्ने व्यक्तिहरुका कारण जोखिममा रहेको चन्दले बताउनुभयो । उहाँले पछिल्लो समय नयाँ रोगीहरु भेटिएकाले सबै गम्भीर भएर औषधी सेवन कार्यक्रमलाई सफल बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्यकर्मीहरुका अनुसार दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्तिहरु तथा सिकिस्त बिरामीहरुले यो औषधी खानु हुँदैन । सिकिस्त बिरामीहरु भन्नाले रोगका कारण ओछ्यानमा परेका बिरामी, अस्पताल भर्ना भएका बिरामीहरु र मिर्गौला रोगको लागि डायलाइसिस जस्ता जीवनभर चिकित्सकीय उपचार सहायतामा बसेका बिरामीहरु हुन् ।

यो औषधि खाली पेटमा खानु नहुने, शरीरमा हात्तीपाइले रोगको परजीवि भएका व्यक्तिहरुमा यो औषधि सेवन गरेपछि सामान्य टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुन सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !