सञ्चार नीति बनाउदै उपमहानगरपालिका

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले ‘नगर सञ्चार नीति २०७६’ जारी गर्ने तयारी गरेको छ ।
उपमहानगरपालिकाले तयार पारेको प्रस्तावित सञ्चार नीतिका बारेमा मंगलबार छलफल गरिएको छ । छलफलमा नेपालगञ्जका अग्रज पत्रकारहरुको सहभागिता रहेको थियो ।
उपमहानगरपालिकाले जारी गर्न थालेको सञ्चार नीतिमा समानुपातिक रुपमा लोककल्याणकारी विज्ञापन दिने, स्थानीय भाषाभाषीका सञ्चार माध्यमलाई प्रोत्साहन गर्ने, सञ्चार माध्यम र सञ्चारकर्मीको अभिलेख राख्ने, पत्रिका मात्र प्रकाशन गर्ने छापाखानालाई व्यवसाय करमा छुटको व्यवस्था गर्ने उल्लेख गरिएको छ ।
उपमहानगरपालिकाले नगर मिडिया काउन्सिल गठन गर्ने, पत्रकारिता अक्षय कोष स्थापना गर्ने, प्रसारण सेवा, छापा सञ्चार माध्यम, अनलाइन, चलचित्रजस्ता विषयगत नीति बनाएको छ । विज्ञ समूह, कार्यदल हुँदै मस्यौदा समितिका सदस्य शंकर खनालले प्रस्तुत गरेको प्रस्तावित सञ्चार नीतिमाथि अग्रज पत्रकारहरुले राय सुझावहरु दिएका थिए ।
नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले विकास निर्माणमा सञ्चारकर्मीको भूमिका अहम रहेकाले नीति नै बनाएर अघि बढ्न थालेको बताउनुभयो । उपमेयर उमा थापाले नीति नहुँदा मिडियासँग कसरी जाने भन्ने समस्या देखिएको बताउनुभयो ।
अग्रज पत्रकारहरु हेमन्त कर्माचार्य, पूर्णलाल चुके, जे. पाण्डे, निरज गौतम, प्रेम केसी, विजय बर्मा, झलक गैरे, ठाकुरसिंह थारु, रुद्र सुवेदी, जयनारायण शाह, गोपी बुढालगायतले प्रस्तावित सञ्चार नीतिका बारेमा सुझाव दिनु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !