करमोहनावासी भन्छन् : ‘तिरो तिर्दैमा व्यक्तिगत जग्गा मन्दिरको हुँदैन’

नेपालगञ्ज – ‘करमोहनावासीले पहिला मालपोतमा तिरो तिर्थे । पछि मालपोतले नै बागेश्वरी मन्दिरको व्यवस्थापनका लागि तिरो मन्दिरलाई दिनु भनेपछि मन्दिरमा तिरो तिर्न थालिएको हो, स्थानीयवासी सन्तराम कुर्मीले भन्नुभयो, तिरो तिर्दैमा व्यक्तिको जग्गा मन्दिरको हुन्छ ?’
यो भनाई कुर्मीको मुखबाट निस्किएपनि करमोहनाबासीको आवाज थियो । गाउँमै पत्रकार सम्मेलन गरेर आन्दोलनलाई निरन्तरताको घोषणा गरेका करमोहनावासीले १९३६ पछि मन्दिरलाई तिरो तिर्न थालेको कागजपत्र देखाए ।


व्यक्तिको लालपूर्जाहरु देखाउदै करमोहनावासीले मन्दिरलाई तिरो तिर्ने बित्तिकै गुठीको जग्गा नहुने जिकिर गरे । उनीहरुले सरकारले बागेश्वरी मन्दिरको सम्पति छानबिन प्रक्रियामा गरेका कुनै पनि कामसँग आफूहरुको मतलव नरहेको बताए । ‘सरकारले हाम्रो जग्गा किन रोक्का गर्यो, हाम्रो व्यक्तिगत जग्गा रोक्का गर्न पाइन्छ ?, करमोहना गुठी रैतान नम्बरी जग्गा संघर्ष समितिका अध्यक्षसमेत रहेका कुर्माीले भन्नुभयो, दुई दिनमात्रै नेपालगञ्ज आएको समितिले दिएको प्रतिवेदनका आधारमा सरकारले गलत निर्णय गरेको छ ।’


करमोहनामा ३ सय ७२ घरधुरी छन् । सरकारले मन्दिरको जग्गा फिर्ता गर्ने निर्णय गरेर जग्गा रोक्कासमेत गरिदिएपछि करमोहनाबासी आक्रोशित भएका छन् । बराजु, बाजे, छोरा, नातीसम्म सरेको जग्गा कसरी मन्दिरको हुन्छ ? गाउँमा सबैको प्रश्न छ ।
पत्रकार सम्मेलन गरेर उनीहरुले आन्दोलनलाई निरन्तरताको घोषणा गरेका छन् । गाउँका भित्ताभित्तामा आन्दोलनमा जाने सूचनाहरु टाँसिएका छन् । २०२७, २०२८ र २०५७ सालमा मन्दिरको जग्गा व्यक्तिको नाममा गएको बताउने गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !