बजेटमा लक्षित वर्गको पहुँच बढ्यो


नेपालगञ्ज – युनिक नेपालले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका र राप्तीसोनारी गाउँपालिकामा सञ्चालन गरेको सुन्दर शान्त नेपाल परियोजनाको सरोकारवालाबीच उपलब्धी तथा सिकाई आदान प्रदान गरिएको छ ।
संघीयता कार्यान्वयन र लक्षित वर्गको हकहितको सवालमा काम गरेको परियोजनाको अवधि सकिदै गर्दा यसको उपलब्धी महत्वपूर्ण रहेकाले समय थप्नु पर्ने माग आएको छ । परियोजना सञ्चालन भएपछि लक्षित वर्गको बजेटमा पहुँच बढेको, संघीयताबारेमा जानकारी दिइएको, योजना तर्जुमा महिलाको सहभागिता बढेको, लक्षित समुदायको गाउँमा लगेर सांसदहरुलाई देखाउदा उपलब्धीपूर्ण भएको, सुदूरपश्चिम प्रदेशले तयार पारेको सुशासन विधेयकमा १६ बुँदा थपिएकोलगायतका उपलब्धीहरु जानकारी दिइएको थियो ।
युनिक नेपालका कार्यक्रम संयोजक जगत चौधरी, इन्टरनेशनल अलर्टका शोभा चौधरीले बाँके र सुदूरपश्चिममा सञ्चालन रहेको परियोजनापछि लक्षित वर्गको सूचनामा पहुँच पुगेको र आफ्नो समुदायका लागि आएको बजेटका बारेमा सोधीखोजी गर्नुका साथै बजेट बढाउनसमेत लागि परेको बताउनुभयो ।
परियोजनाले नागरिक संवाद समूह गठन गरेर गतिविधि अघि बढाएको थियो । च्याम्पियनहरु पनि बनाइएको थियो ।
मार्चमा परियोजनाको अवधि सकिदैछ । सिकाई आदानप्रदानमा नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले संघीयता र सीमान्तकृतको सवालमा काम गरेर परियोजनाले राम्रो काम गरेको बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष सुनिलसिंह हमाल, राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्जका निर्देशक चन्द्रकान्त चापागाई, नागरिक संवाद समूहका शिवप्रसाद बर्मा, शंकर न्यौपानेले लक्षित वर्गको हक अधिकारको सवालमा काम गरेकाले परियोजना अवधि अझै बढाएर जानु पर्नेमा जोड दिनुभयो ।
नेपालगञ्जका ६ वटा वडामा परियोजनाले काम गरेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !