सिद्धार्थ बैंकको दुई शाखा थपिए
नेपालगञ्ज – सिद्धार्थ बैंकले नेपालगञ्जमा दुई वटा शाखा सञ्चालनमा ल्याएको छ ।
सिद्धार्थले नेपालगञ्जको न्यूरोड र वीपीचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । शाखाको नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा, नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक मुक्तिप्रसाद सापकोटा, सिद्धार्थका वरिष्ठ नायव महाप्रवन्धक शेरबहादुर बुढाथोकी, ५ नम्बर प्रदेश प्रमुख उपेन्द्र गड्तौलाले शाखाको उद्घाटन गर्नुभयो ।
नेपालगञ्जमा थपिएका शाखासहित सिद्धार्थको देशभरमा १ सय ८० वटा शाखा पुगेका छन् । शाखाको उद्घाटन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर थापाले पालिकाहरुसँग समन्वय गरेर दूरदराजमा पनि जान आग्रह गर्नुभयो । बैंकले नाफामात्रै कमाउनु भन्दा पनि सामाजिक उत्तरदायीका कामहरु उपमेयरको सुझाव थियो ।
राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक सापकोटाले उत्पादनशील र सहुलियत कर्जामा जोड दिन निर्देशन दिनुभयो ।
बैंकका वरिष्ठ नायव महाप्रवन्धक बुढाथोकीले बैंकले एक सय ३३ अर्ब निक्षेप र एक सय २३ अर्ब लगानी गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार, ५ नम्बर प्रदेशमा साढे तीन अर्ब निक्षेप संकलन गरेर ७ अबैं बढी लगानी गरिरहेको बताउनुभयो । ‘हामीले यहाँ निक्षेप संकलन भन्दा लगानी बढी गरेका छौं, बैंकका वरिष्ठ नायव महाप्रवन्धक बुढाथोकीले भन्नुभयो, हामीले ५ नम्बर प्रदेशमा बढी भन्दा बढी लगानी गरिरहेका छौं ।’
बैंकले न्यूरोड शाखामा मनोजकुमार तिवारी र वीपीचोक शाखामा लोकविक्रम थापालाई प्रमुख बनाएर पठाएको छ । सिद्धार्थको बाँकेमा पाँच वटा र नेपालगञ्जमा मात्रै तीन वटा शाखा भएका छन् । देशभरमा १ सय ८० शाखा, १ सय १ वटा शाखारहित सेवा, एक सय ९९ एटीम रहेका छन् ।