दादुरा प्रभावित वडामा पुगे स्वास्थ्यमन्त्री गिरी

नेपालगञ्ज – स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले दादुरा संक्रमण नियन्त्रणमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।

शुरुमा दादुरा देखिएको र एक बालकको मृत्यु भएको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ मा पुगेर मन्त्री गिरीले घरघरमा पुगेर बालबालिकालाई खोप लगाउन निर्देशन दिनुभयो ।

पुस १२ गते नेपालगञ्जको वडा नं. ५ मा एकै घरका पाँच जनामा दादुरा संक्रमण देखिएपछि काठमाडौंमा गरिएको जाँचमा चार जनामा संक्रमण पुष्टि भएको थियो । त्यसको केही दिनपछि दुई वर्ष सात महिनाका बालकको मृत्यु भएको थियो ।

मन्त्री गिरीले दादुराविरुद्धको खोप अभियानको निरीक्षण गर्नु भएको थियो । मन्त्री गिरीकै अगाडि बालबालिकालाई खोप लगाइएको थियो ।
त्यसपछि मन्त्री गिरीले भेरी अस्पतालमा थपिएको डायलासिस मेसिनको उद्घाटन गरेका छन् । भेरीमा चार जना मेसिन रहेकोमा ६ वटा थपिएको छ । भेरीमा अहिले हप्तामा ५४ जनाले नियमित डायलासिस सेवा लिइरहेका छन् ।

भेरी अस्पतालका मेसु डा. बद्री चापागाईले फोहोर व्यवस्थापनदेखि समग्र अस्पतालको बारेमा मन्त्री गिरीलाई जानकारी गराएका थिए ।
मन्त्री गिरीले दिउँसो खजुरा क्यान्सर अस्पतालको आइसीयू कक्षको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । खजुरामा हालसालै आएको लिन्याक मेसिन पनि आज नै जडान हुने अस्पताल विकास समितिका पूर्व अध्यक्ष किस्मत कक्षपतिले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !