योगिनी कप फुटबल प्रतियोगिताको तयारी सुरु

नेपालगञ्ज – योगिनी कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण हुने भएको छ । योगिनी युवा क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता फागुनको अन्तिम सातामा हुने भएको हो ।

प्रतियोगिता खजुरा गाउँपालिका वडा नम्बर २ स्थित योगिनी उच्च माविको खेल मैदानमा हुनेछ । प्रतियोगिता आयोजना मिति र पुरस्कार रकमबारे क्लबको आगामी बैठकले निर्णय गर्ने आयोजकले बताएको छ ।

गत शनिबार बसेको क्लबको बैठकले प्रतियोगिता आयोजनाको तयारी अगाडी बढाउने निर्णय गरेको योगिनी युवा क्लबका अध्यक्ष तरिन्द्र बहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, हामीले पहिलो संस्करण निकै उत्साहका साथ गरेको थियौं । कोभिडका कारण त्यसपछि दोस्रो संस्करण आयोजना गर्न सकिएको थिएन । अव अवस्था सहज भएपछि प्रतियोगिता गर्ने तयारी गरेका छौं । प्रतियोगितालाई सफल बनाउन सबैको सहयोग र साथको अपेक्षा गरेका छौं ।

योगिनी कप फुटबल प्रतियोगिता बाँकेमा आयोजना हुने स्तरीय प्रतियोगितामा पर्छ । बाँके जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका क्लबहरुले सहभागिता जनाउने आयोजकले बताएको छ । यसपटक प्रतियोगितामा करिब १५ क्लबको सहभागिता रहने क्लबका अध्यक्ष थापाले बताउनुभयो ।

प्रतियोगितालाई व्यवस्थित तरिकाले अगाडी बढाउन योगिनी कप फुटबल प्रतियोगिता दोस्रो संस्करणको संयोजक र उपसंयोजक मनोनित गरिएको छ । प्रतियोगिताको संयोजकका रुपमा हरिबहादुर बुढाक्षेत्री र सह–संयोजकका रुपमा ईश्वरलाल खत्रीलाई क्लबको बैठकले मनोनित गरेको छ । यसैगरी आगामी बैठकले प्रतियोगिता आयोजनाको लागि विभिन्न उपसमिति बनाएर काम अगाडी बढाउने अध्यक्ष तरिन्द्र बहादुर थापाले बताउनुभयो ।

नेपाल आईस योगिनी कप फुटबल प्रतियोगिताको पहिलो संस्करण २०७७ सालमा भएको थियो ।
पहिलो संस्करणको फाइनलमा चन्द्रज्योती युवा क्लबले आयोजक योगिनी–११ बी टिमलाई हराउँदै नगद ५१ हजार सहित उपाधि जितेको थियो ।

पहिलो संस्करणको सर्वोत्कृष्ट खेलाडी योगिनी युवा क्लबका यामबहादुर थापा, उदयीमान खेलाडी सुरज थापा क्षेत्री, उत्कृष्ट फरवार्ड यामबहादुर थापा, उत्कृष्ट मिड फिल्डर गोपाल थापा, उत्कृष्ट रक्षक राम ओली र उत्कृष्ट प्रशिक्षकको रुपमा विकास सिंह विक पुरस्कृत भएका थिए ।


error: यो सुविधा उपलब्ध छैन !