नेपालगञ्ज उपमहानगरपालिकामा हाकिमविरुद्ध खनिए कर्मचारी
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत (हाकिम) जगत बस्नेतविरुद्ध कर्मचारीहरु एकजुट भएका छन् । ट्रयाकबाहिर गएर जिम्मेवारी बाँडफाँड गरेकोलगायत विषय उठाएर सबैजसो अधिकृतहरु हाकिमविरुद्ध खनिएका छन् ।
हाकिम बस्नेत उपसचिव हुन् । उनी नेपालगञ्जमा आएको धेरै भएको छैन । बस्नेतले प्रशासनको नम्स विपरित जिम्मेवारी बाँडफाँडलगायत विषयमा काम गरेको भन्दै उपमहानगरपालिकाका दुई उपसचिवसहित आधा दर्जन अधिकृत रुष्ट भएका छन् । शिक्षा र सामाजिक विकास महाशाखाका प्रमुख दुई उपसचिवसहित सबैजसो शाखाका प्रमुख अधिकृतहरुले कार्यालय प्रमुख बस्नेतलाई जिम्मेवारी बाँडफाँडलगायतका कार्यहरु सुधार्न दबाब बढाएका छन् । हाकिमपछिका जिम्मेवार सबै अधिकृतहरुले ज्ञापनपत्र नै बुझाएका छन् । ज्ञापनपत्रको बेवास्ता गरेमा कसरी अघि बढ्ने भन्ने विषयमा पनि उनीहरु निरन्तर छलफलमा छन् ।
रुष्ट अधिकृतहरु बैशाख ३० गतेको चुनाव अघि नै मेयर डा. धवलशमशेर राणाकहाँ पुगेका थिए । मेयर राणाले प्रमुख प्रशासकीय अधिकृत बस्नेतलाई बोलाएर नम्स अनुसार काम गर्न निर्देशन दिएका थिए । त्यसलाई बस्नेतले बेवास्ता गरिरहेका छन् । नवनिर्वाचित मेयर प्रशान्त विष्टमार्फत दबाब बढाउन कर्मचारीहरु लागि परेका छन् ।
बस्नेत हाकिम भएर आएपछि आयुर्वेदिक फाँटका बज्रभुषण झालाई जिन्सी शाखा र स्वास्थ्य शाखाका जागेश्वर बस्नेतलाई योजना शाखाको प्रमुख बनाएका छन् । आफू अनुकूलका कर्मचारीलाई जिम्मेवारी बाँडफाँड गरेका छन् । रुष्ट बनेका उपसचिवसहित अधिकृतहरुले जुन सेवा समूहको हो, त्यही सेवा समूहमा पठाउन आग्रह गरिरहेका छन् ।
रुष्ट कर्मचारीहरुले सामाजिक विकास अधिकृत कृष्ण जोशीको संयोजकत्वमा कर्मचारीको बृत्ति विकास, उपमहानगरपालिकाको संस्थागत सुदृढिकरण र कर्मचारी हकहितका लागि एउटा तदर्थ समिति गठन गरेका छन् । समिति संयोजक जोशीले भन्नुभयो, ‘अहिले सबैजसो अधिकृतहरु रुष्ट बनेको कुन कर्मचारीलाई कुन जिम्मेवारी दियो भनेर होइन, उपमहानगरपालिका प्रशासन नम्स अनुसार चल्नु प¥यो भनेर हो ।’ उहाँले आफूहरुले पात्र केन्द्रित गरेर होइन कि समग्र उपमहानगरपालिकाको विकासका लागि र सिस्टमलाई इंगित गरेको बताउनुभयो ।
उपमहानगरपालिकाको संस्थागत सुधार सम्बन्धमा संगठन व्यवस्थापन सर्वेक्षण (ओम) लाई प्रभावकारी बनाउन, आर्थिक खरिद ऐन अनुसार चल्न, जुन सेवा समूहको कर्मचारी हो, त्यही सेवा समूहमा जिम्मेवारी दिनलगायत करिव दुई दर्जन मागहरु अघि सारिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत बस्नेतले नेपालगञ्जमा आएका छैठौ तहका धेरै अधिकृतहरु एकैपटक सातौ भएर गएपछि जिम्मेवारी बाँडफाँडमा यताउता भएको बताउनुभयो । ‘पालिका त चलाउनु प¥यो । हाम्रो यहाँ अहिले प्रशासनमा अधिकृत कम छन् । स्वास्थ्य शाखामा मात्रै कर्मचारी पर्याप्त छन्, प्रमुख प्रशासकीय अधिकृत बस्नेतले भन्नुभयो, यता र उता, उताका यता गरेर मिलाएको छु ।’
प्रमुख प्रशासकीय अधिकृत बस्नेतले कर्मचारीहरुले उठाएको सबैजसो माग राम्रो रहेको बताउनुभयो । ‘दरबन्दी मिलान, तेल खर्च, सेवा सुविधा, संगठन व्यवस्थापन सर्वेक्षणलगायतका विषयहरु उठाउनु भएको छ, सबै राम्रा छन्, बस्नेतले भन्नुभयो, सबै मिलेर उपमहानगरपालिकालाई राम्रो बनाउने हो ।’
नेपालगञ्जमा प्रायः हाकिम टिक्दैनन् । टुरिष्टका रुपमा आउने हाकिमका कारण नेपालगञ्जको विकासमा असर पर्ने गरेको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा बसेर जिल्लाको बारेमा जानकारी हासिल गरिसकेका बस्नेतले उपमहानगरपालिकामा अहिले अलि बढी नै आफूखुशी गरेको कर्मचारीहरु बताउँछन् । बस्नेतसँग यसअघिका मेयर र उपमेयर पनि ‘खुशी’ थिएनन् । सानो–सानो कुरामा पनि हाकिम प्रत्यक्ष जोडिने गरेको नगरपालिका स्रोत बताउँछ ।