राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘ठूला पार्टीलाई सुधार्न मत नदिनुस्’

नेपालगञ्ज – राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले यत्रो वर्षसम्म शासन गर्दा पनि ठूला पार्टीले देश विकास गर्न नसकेकाले अब उनीहरुलाई दण्डित गर्नु पर्ने बताउनु भएको छ ।

पार्टीले नेपालगञ्जमा आयोजना गरेको चुनावी सभामा बोल्दै अध्यक्ष लिङ्देनले भोट नदिएर ठूला पार्टी र नेतालाई दण्डित गर्न आग्रह
गर्नुभयो । ‘ठूला पार्टी र नेतालाई सुधार्न उनीहरुलाई हराउनु पर्छ । त्यसका लागि राप्रपामा भोट हाल्नुस्, उनीहरुको बाकस रित्तो बनाउनुस्, अध्यक्ष लिङ्देनले भन्नुभयो, हारेपछि कि त सुध्रिन्छन् या त राजनीतिक मैदान छोडेर जान्छन् ।’

अध्यक्ष लिङ्देनले गठबन्धनले जितेमा देश लडाई झगडामा फस्ने चेतावनी दिनुभयो । ‘स्वार्थका लागि गठबन्धन गरिएको छ । जितिहालेमा कसको एजेन्डा लागु गर्छन्, अध्यक्ष लिङ्देनले भन्नुभयो, गठबन्धनले जितेमा लडाई झगडा हुन्छ । विकास हुँदैन ।’

राप्रपाका महामन्त्री एवं नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले गलत मान्छेलाई मत दिएर नेपालगञ्जको मेयर नबनाउन आग्रह गर्नुभयो । उहाँले नेपालगञ्जलाई गुण्डाको अखडा बन्न नदिन अनुरोध गर्नुभयो । ‘गलत मान्छेलाई भोट दिएर मेयर बनाउनु भयो भने पाँच वर्षसम्म पछुताउनु बाहेक केही गर्न सकिदैन, नेपालगञ्जवासीले सबैलाई राम्ररी चिनेका छन्, सोच विचार गरेर भोट दिनुस्, डा. राणाले भन्नुभयो ।

राप्रपाबाट नेपालगञ्जका मेयर उम्मेदवार नन्दलाल बैश्यले आफू शासन गर्न नभई सेवा गर्नका लागि मेयर हुन खोजेको बताउनुभयो । उहाँले आफूले मेयर जितेमा भ्रष्टाचार नगर्ने उद्घोष गर्नुभयो । ‘म मेरो आमाको कसम खान्छु । मैले जिते भने भ्रष्टाचार गर्दिन, बैश्यले भन्नुभयो ।
राप्रपा उम्मेदवार बैश्यले नेपालगञ्जलाई कर्णालीमा मिसाउन चाहेको बताउनुभयो ।

उपमेयरका उम्मेदवार विन्दु चर्तिमगरले नगरमा सेवा गर्ने अवसर दिन आग्रह गर्नुभयो ।
त्रिभुवनचोकमा चुनावी सभा हुनुअघि राप्रपाले अध्यक्ष लिङ्देनसहित नगरमा मोटरसाइकल ¥याली निकालेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !