सहानुभूति मतले चुनाव जित्ने मिश्रको दावी

नेपालगञ्ज – नेकपा एमालेका नेपालगञ्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार पशुपतिदयाल मिश्रले नेता, कार्यकर्ता एक ढिक्का रहेको र स्वतन्त्र मतदाताको सहानुभूति रहेकाले आफूले जित्ने दावी गर्नु भएको छ ।

मिश्रले नेपालगञ्जमा एमालेले २०५४ सालमा जसरी जीत निकाल्ने दावी गर्नुभयो । २०५४ सालको निर्वाचनमा मेयर र उपमेयर जितेको एमालेले त्यसयता वडाहरु बाहेक यहाँ कुनै पनि निर्वाचन जित्न सकेको छैन । केही समय अघिसम्म निर्वाचन जितिन्न भन्ने कमजोर मनस्थितीमा पुगेका नेता कार्यकर्ता यसपटक निर्वाचन जित्नेमा ढुक्क रहेको दाबी गर्छन, नेकपा एमालेका जिल्ला अध्यक्ष किस्मत कुमार कक्षपति । कक्षपति भन्नुहुन्छ, संगठन सुदृढिकरण नै हाम्रो मुख्य शक्ति हो । अर्कोकुरा बिरोधीले जतिसुकै आरोप लगाएपनि हाम्रो सरकारको नेतृत्वमा मधेसमा धेरै विकास भयो । त्यो मुल्यांकन जनताले गर्दै गर्छन्। नेपालगञ्जमा एमालेको संक्रमणकाल सकियो, अब हामी जित्ने शक्ति बनेर उभिएका
छौं ।
एमालेले नेपालगञ्जको मेयरमा यहाँका पुराना र जनाधार भएका नेता मिश्र र उपमेयरमा शान्ति ढकाललाई उम्मेदवार बनाएको छ । मिश्र पार्टीगत मात्र होइन, स्वतन्त्र मतदातामाझ राम्रो पकड भएका नेताका रुपमा चिनिन्छन् ।

मिश्र एमालेका केन्द्रीय सदस्य हुन् । सामान्य कार्यकर्तासँग पनि मिश्रको पहुँच र घुलमिल छ ।
अघिल्लो पटक पराजय व्यहोरेका मिश्रलाई यसपटक सहानुभूति मत समेत आउने एमालेका युवा नेता एवं वडा नं. १ का अध्यक्ष उम्मेदवार प्रमोद रिजाल बताउनुहुन्छ । यसपटक जित्ने गरी एमालेका नेता कार्यकर्ताहरु चुनावी रणनीतिमा जुटेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !