तीन डाक्टर, तीन पार्टीका कमाण्डर

नेपालगञ्ज – यसपटकको निर्वाचनमा नेपालगञ्जमा सत्तारुढ गठबन्धन, एमाले र राप्रपाबीच चुनाबी प्रतिस्पर्धा छ ।

गठबन्धनबाट कांग्रेसका प्रशान्त बिष्ट, एमालेबाट पशुपतिदयाल मिश्र र राप्रपाबाट नन्दलाल बैश्य चुनाबी मैदानमा छन् । तीनै जना उम्मेदबारको चुनाबी रणनीतिको मोर्चा भने तीन जना डाक्टरले सम्हालेका छन् ।

डाक्टरहरु यतिबेला खुबै व्यस्त छन् । उनीहरुको व्यस्तता विरामीको उपचार गर्न होइन कि आफ्नो उम्मेदवारलाई जिताउनका लागि भइरहेको छ । चुनावी मोर्चा सम्हालेका तीनमध्ये दुई जना मेडिकल र एकजना राजनीति शास्त्रका डाक्टर हुन् ।

चुनावी माहोलसँगै डाक्टरहरुलाई भ्याई नभ्याई छ । फोनमा त ब्यस्त रहन्छ नै, चुनावी कार्यक्रम, घरदैलो र मतदातालाई मतदान गर्न सिकाउन लागि परेका छन् । आ–आफ्नो पार्टीको कमाण्ड सम्हाल्नेमा डा.सुरेश कनोडिया, डा. ओमप्रकाश मिश्र र डा. धवलशमशेर राणा रहेका छन् । डा. कनोडिया र डा. राणाले बाहिरी मोर्चामा देखिएर काम गरिरहेका छन् भने डा. मिश्रले लो–प्रोफाइलमा बसेर चुनावी मोर्चा सम्हालिरहेका छन् ।

डा. राणा राप्रपाका महामन्त्री र नेपालगञ्जका मेयरसमेत हुन् । डा. राणा आफ्नो पार्टीको मेयरका उम्मेदवार नन्दलाल बैश्यलाई जिताउन रातदिन खटिरहेका छन् । आफ्नो विरासत जोगाउन डा. राणाको दौडधुप निकै बढेको छ । बैश्यले जित्नु र हार्नुमा डा. राणाको जीत र हारसँग जोडिएको छ ।

डा. कनोडिया कांग्रेसका महासमिति सदस्य हुन् । मेयरका लागि उनको अन्तिमसम्म प्रयास थियो । २०७४ सालाको चुनावमा उनी मेयरका उम्मेदवार पनि थिए र डा. राणासँग पराजित भएका थिए । पार्टीबाट संघमा पटक–पटक समानुपातिकको लिष्टमा पर्दै आएका थिए । आफूले टिकट नपाएपछि डा. कनोडिया आफ्ना उम्मेदवार प्रशान्त विष्टलाई जिताउन लागि परेका छन् । पार्टीले डा. कनोडियालाई निर्वाचन परिचालन कमिटिको संयोजक बनाएको छ ।

डा. मिश्र एमालेका उम्मेदवार पशुपतिदयाल मिश्रलाई जिताउन आन्तरिक व्यवस्थापनमा व्यस्त छन् । पार्टीमा नेताहरु नै कमाण्डर भएर पशुपतिदयाललाई जिताउन बाहिर निस्केका छन् । व्यवस्थापनको भित्री कमाण्ड भने डा. मिश्रले सम्हालेका छन् । डा. मिश्र उम्मेदवार मिश्रका छोरा हुन् ।

राजनीतिमा बाहिर ननिस्केका डा. मिश्रले आफ्नो उम्मेदवारलाई जिताउन आफ्नो सर्कलमा भेटघाट र व्यवस्थापनमा खटिएका छन् । एमालेका नेता तथा बाहिरी व्यवस्थापनमा डा. मिश्रले महत्वपूर्ण भूमिका खेलेका छन् ।
तीन ठूला पार्टीको उम्मेदवारको बाहिरी या भित्री कमाण्ड तीन डाक्टरले सम्हालेको विषयले नेपालगञ्जमा चर्चा पाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !