ओली र प्रचण्ड नेपालगञ्जमा

नेपालगञ्ज – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेपालगञ्ज आएका छन् ।

एमाले अध्यक्ष ओली कर्णाली प्रदेशका विभिन्न जिल्लाको कार्यक्रममा सहभागी हुन नेपालगञ्ज आउनु भएको हो । बुधबार साँझ नै नेपालगञ्ज आउनु भएका ओलीले बिहीबार कर्णाली प्रदेशको दैलेख, जुम्ला र कालिकोटको कार्यक्रममा सहभागी भएर नेपालगञ्ज फर्किनु भएको छ । बिहीबार पनि ओली नेपालगञ्ज बस्ने कार्यक्रम रहेको छ ।

नेपालगञ्ज बसाईमा क्रममा ओलीले बिहीबार विहान नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ मा केही व्यक्तिलाई पार्टी प्रवेश गराउनुभयो । बुधबार साँझ आउदा आउदै नेपालगञ्ज विमानस्थलमै सन्तोष लखेरलगायतलाई पार्टी प्रवेश गराउनु भएको थियो ।

स्नेह होटलमा बस्नु भएका ओलीले जिल्लाका नेताहरुलाई भेटघाट गर्नु भएको छ । भेटमा ओलीले स्थानीय तहको निर्वाचन जित्ने गरी लाग्न निर्देशन दिनु भएको छ । एमाले बाँकेका पार्टी सचिव रत्न खत्रीले स्थानीय तहको चुनाव नजिकिएकाले त्यसलाई फोकस गरेर एकमना एकताका साथ चुनाव जित्ने गरी लाग्न पार्टी अध्यक्ष ओलीले निर्देशन दिनु भएको जानकारी दिनुभयो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्व. दामोदर आचार्यको श्रद्धाञ्जली सभामा सहभागी हुन नेपालगञ्ज आउनु भएको हो । विहान श्रद्धाञ्जली सभामा सहभागी भएका अध्यक्ष प्रचण्डले अपरान्ह पार्टी नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिनु भएको छ ।

युवा नेता नविन शर्माका अनुसार, पार्टी प्रशिक्षणमा अध्यक्ष प्रचण्डले चुनावमा गठबन्धन गरेर जाने तय भएको बताउनुभयो । अध्यक्ष प्रचण्डले स्थानीय तहमा सर्वे टोली आएर हेरेर कुन ठाउँमा कुन दललाई अगाडि सार्ने निर्णय हुने बताउनुभयो । उहाँका अनुसार, चैत्र १९ र २० गते प्रदेशस्तरमा संयुक्त बैठक बसेर गठबन्धनका बारेमा निर्णय हुने बताउनुभयो ।

दुई कम्युनिष्ट पार्टीका अध्यक्षले नेपालगञ्ज आएर नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् । पार्टी स्रोतका अनुसार, ओली बिहीबार नेपालगञ्ज बस्ने र प्रचण्ड काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !