चुनावी गठबन्धनका विषयमा छलफल
नेपालगञ्ज – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री डा. धवलशमशेर राणाका बीच भेटवार्ता भएको छ ।
नेपालगञ्जको स्नेह होटलमा दुई रात बास बसेका अध्यक्ष ओली र नेपालगञ्ज निवासी राप्रपाका महामन्त्री डा. राणाका बीचमा स्थानीय तहको चुनावमा गठबन्धन गरेर जाने विषयमा छलफल भएको हो ।
नेपाली कांग्रेसले सत्ता घटकका बीचमा गठबन्धन गरेर जाने निर्णय गरेपछि एमाले र राप्रपाका बीचमा पनि गठबन्धन गरेर अघि बढ्नु पर्ने कुरामा दुवै नेताले आ–आफ्नो पार्टीमा सल्लाह र छलफल गर्ने बताएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर समेत रहेका डा. राणाले ओलीसँगको भेटमा चुनावमा गठबन्धन गरेर जाने विषयमा छलफल भएको बताउनुभयो । ‘कांग्रेससमेत सत्ता घटकसँग गठबन्धन गर्ने पक्षमा गएकाले हामीलाई पनि गठबन्धन गरेर अघि बढ्न बाध्यात्मक परिस्थिति सिर्जना भएको छ, राप्रपाका महामन्त्री डा. राणाले भन्नुभयो, ओलीजी सकारात्मक हुनुहुन्छ । साथीहरुसँग छलफल गर्छु भन्नु भएको छ । मैले पनि पार्टीमा कुरा गर्छु भनेको छु ।’
नेपालगञ्जका मेयर डा. राणाले यसपाली मेयरमा नउठेर संघमा चुनाव लड्ने घोषणा गरिसक्नु भएको छ । नेपालगञ्जमा मेयरमा एमाले र संघमा राप्रपाका महामन्त्री डा. राणालाई सघाउने चर्चा व्यापक छ । यस विषयमा सोधिएको प्रश्नमा डा. राणाले नेपालगञ्जको विषयमात्रै नभएर देशभरी नै गठबन्धन गर्ने विषयमा ओलीजीसँग छलफल गरेको बताउनुभयो ।
एमालेसँगको यस्तो छलफलले निरन्तरता पाउने राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले जानकारी दिनुभयो । दुई नेताका बीच वानटुवान छलफल भएको थियो ।
यसअघि पनि महामन्त्री डा. राणा काठमाडौं गएर एमालेका नेताहरुसँग गठबन्धनका विषयमा छलफल गर्नु भएको
थियो ।