स्थानीय तहको निर्वाचन आचार संहिताबारे छलफल
नेपालगञ्ज – स्थानीय तहको निर्वाचनमा स्वच्छता, निश्पक्षता, पारदर्शिता, तथा भयमुक्त बातावरण कायम राख्नका लागि बाँकेका नागरिक समाजको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ ।
पारस्परिक जवाफदेहिता परियोजनाअन्तर्गत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जले बिहीबार गरेको निर्वाचन आचारसंहिता कार्यान्वयनमा नागरिक समाजको भूमिका विषयक छलफलका सहभागीले स्थानीय तहको निर्वाचनमा आचारसंहिताको पूर्ण पालनाका लागि नागरिक दवाव तथा वाचडगको आवश्यकता रहेको औल्याएका थिए ।
कार्यक्रमका सहभागीले कार्यक्षेत्रमा आचारसंहिता उल्लघंनका घटना बढी हुने भएकाले स्थानीयस्तरबाट त्यसको कार्यन्वयनका लागि पहल थाल्नुपर्ने बताएका थिए । कार्यक्रममा राजनीतिक दलका उम्मेदवारले चुनावमा गर्ने अत्याधिक खर्च, सम्पति विवरण नबुझाउने, बालबालिकाको प्रयोग बढी गर्ने, उम्मेदवारद्वारा विभिन्न प्रलोभन देखाउने, अनुमति विना पर्चा पम्पलेट तथा व्यानर टाँस्ने स्थानजस्ता कार्यका बारेमा छलफल गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज प्रमुख झंकर रावल, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजीत तिवारी, अधिबक्ता दिपकबहादुर सिंह, बालबहादुर चन्द, अधिकारकर्मी प्रकाश उपाध्याय, कृष्णमुरारी प्रसाद भट्ट, बालकुमारी पन्त, शैलेन्द्र बैश्य, इन्सेकका सरस्वती मल्ल, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, पत्रकार राकेश मिश्रलगायतले निर्वाचन आचारसंहिताका बारेमा आ–आफ्नो विचार राख्नु भएको थियो ।
संस्थाका कार्यक्रम व्यवस्थापक रविन्द्र ज्ञवालीले सञ्चालन गरेको कार्यक्रममा अधिकारकर्मी रविन्द्र कर्णले सहजीकरण गर्नुभएको थियो ।