फुटबल संघमा तीन पदाधिकारी र एक सदस्य मनोनित
नेपालगन्ज – बाँके जिल्ला फुटबल संघले रिक्त रहेका तिन पदाधिकारी र एक सदस्य मनोनित गरेको छ । नेपालगन्जमा बसेको बाँके जिल्ला फुटबल संघको बैठकले कोषाध्यक्षमा सानु तामाङ, सह–महासचिवमा दिर्घराज आचार्य(कौशल) र सरिता थापा(शाह)लाई मनोनित गरेको छ ।
यसैगरी संघको सदस्यमा कर्ण बस्नेतलाई मनोनित गरिएको अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य एवम् बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताउनु भएको छ । संघको विधानमा रहेको व्यवस्था अनुसार मनोनित गरिएको अध्यक्ष शाहीले बताउनु भयो ।
उहाँले भन्नुभयो,‘संघको कार्यसमितिलाई चलायमान गराउन मनोनित गरिएको हो । फुटबल क्षेत्रमा योगदान गरिरहनु भएको व्यक्तिलाई समेटदैं कार्यसमितिमा मनोनित गरिएको हो । मनोनित हुनु भएका सबैले बाँके जिल्लाको फुटबल विकासमा थप क्रियाशिल भएर काम गर्नु हुनेछ भन्ने विश्वास छ ।’
कोषाध्यक्षमा मनोनित हुनु भएका तामाङ राष्ट्रिय खेलकुद परिषद्को पूर्व प्रशिक्षक हुनुहुन्छ । चार दशकदेखि फुटबल खेलाडी उत्पादनमा योगदान गरिरहनु भएका तामाङ मिलन युवा क्लबको अध्यक्ष हुनुहुन्छ । सह–महासचिवमा मनोनित आचार्य रोयल नेपालगन्ज फुटबल क्लबका महासचिव हुनुहुन्छ भने थापा कारकाँदो युवा स्पोटर््स क्लबका महासचिव हुनुहुन्छ । यसैगरी सदस्यमा मनोनित बस्नेत कोहलपुर रेसिङ सहारा क्लबको सल्लाहाकार तथा कोहलपुर गोल्ड कपको संयोजक हुनुहुन्छ ।