फेरि आलु लगाए, अब पालाको डर
नेपालगन्ज – बाँकेको हिरमिनियाका किसानले दोस्रो पटक आलु लगाएका छन् । कात्तिक तेस्रो साता आएको बेमौसमी पानीले सखाप पारेपछि किसानले दोस्रो पटक आलु लगाएका हुन् ।
दोस्रो पटक आलु लगाएका किसान अझै राम्रो हुनेमा डराइरहेका छन् । चिसो शुरु भएसँगै आलुलाई ‘पाला’ले असर गर्ने गर्दछ । एकपटक पानी र अर्को पटक पालाले नोक्सानी पु¥याउने हो कि भन्ने किसानलाई चिन्ता रहेको छ ।
कालाबन्जरका नरेन्द्र कुम्हारले २ लाख खर्च गरेर पुनः आलु लगाएको बताए । पहिला आलु लगाउदा नरेन्द्रले ३ लाख बढी खर्च गरेका थिए । दोस्रो पटक आलुको बिउ किनेर लगाउनु प¥यो । मल हाल्नु परेन । नरेन्द्रले १७ कठ्ठामा आलु लगाएका छन् । ‘पहिला लगाएको आलु कात्तिक १९ गते आएको पानीले सखाप पा¥यो । जग्गा त्यत्तिकै राख्नु भएन । आफन्तीसँग सापट र ऋण गरेर फेरि बिउ ल्याएर आलु लगाएका छौं, नरेन्द्रले भने, समयमा लगाएको आलुलाई पानीले सखाप पा¥यो, अलि ढिला गरी फेरि आलु लगाएका छौं । यसलाई चिसोसँगै देखिने पालाले असर गर्छ कि भन्ने चिन्ता बढेको छ ।’
स्थानीय रमेश मौर्यले पहिला लगाएको आलु बेमौसमी पानीले गर्दा नउम्रिएपछि सहकारीबाट ऋण लिएर पुनः आलु लगाएको बताए ।
हिरमिनिया जिल्लाको आलु पकेट क्षेत्र हो । यहाँका सबै किसानले आलु खेती गर्छन् । चाडबाड सकिएसँगै र केहीले दुई-चार दिन पहिला आलु लगाएका थिए । एक्कासी कात्तिक १९ गते साँझ ठूलो पानी परेपछि आलु लगाएको बारी डुवानमा परेको थियो । तीन दिनसम्म डुबेको बारीमा आलुको बिउ सबै कुहिएको थियो । जेनेरेटर लगाएर पानी फालेका किसानले अलिअलि उम्रिन्छ कि भन्ने आशा गरेका थिए । केहीको अलिकति अग्लो ठाउँमा उम्रिएको छ । ऋणधन गरेर फेरि पैसा जुटाउन सक्ने किसानले आलु लगाएका छन् । पैसाको जोहो गर्न नसक्नेले तोरी, मुला, भाजी, पालक, मेथी, चम्सुर लगाएका छन् ।
हिरमिनियामा सबैभन्दा धेरै आलु लगाउने किसानमा जयपाल मौर्य पर्छन् । उनले ड्याङ बनाएर आलु लगाएकाले डुवानमा परेपनि केही उम्रिएको छ । बीचबीचमा नउम्रिएको ठाउँमा फेरि लगाएका छन् । त्यहाँका रामु मौर्यले सबै ठाउँमा दोस्रो पटक आलु लगाएका छन् । रमेश मौर्यले दोस्रो पटक पनि पाँच हजार क्वीन्टलका दरले बिउ किनेर आलु लगाएको बताए । ‘अहिले तपाईले जति पनि भर्खरै उम्रिएको आलु देख्नु भएको छ । त्यो सबै दोस्रो पटक लगाएका हुन्, मौर्यले भने, केही घण्टामात्रै परेको पानीले किसानलाई ठूलो नोक्सानी ग¥यो ।’
केहीको भने एउटा खेतमा एकातिर आलु देखिन्छ भने अर्कोतिर खाली । त्यो खाली देखिएको डुवानमा परेर आलु नउम्रिएको ठाउँ हो । डुडुवा गाउँपालिका वडा नं. ६, हिरमिनियाका वडाध्यक्ष मोहनराम मिश्रका अनुसार, हिरमिनियाको भंघोटना, चौधरीपूर्वा, कालाबन्जार, बल्दीपूर्वा, महन्तपूर्वा, मुन्सीपूर्वा, पटवारीपूर्वाका शतप्रतिशत किसानले आलु खेती गर्छन् । बेमौसमी पानीले आलु किसानलाई ठूलो नोक्सानी गरेको छ ।