सिधनियाघाटकाे महाआरतीमा भक्तजन बढ्दै

डुडुवा – बाँकेको राप्ती नदी सिधनियाघाटमा आज पाँचौ संस्करण गंगा महाआरती गरिएको छ । महाआरतीमा भक्तजनहरुको सहभागिता बढ्दै गएको पाइएको छ ।
बाँके डुडुवा गाउँपालिका वार्ड नं.–४ राप्ती नदीस्थित श्री अष्टोत्तरशतम् शिवलिंङ्ग विश्वम्भरनाथ महादेव (१०८ शिवलिङ्ग विश्वम्भर महादेव) मन्दिरमा गंगा महाआरती भएको हो । बाँके जिल्लाका विभिन्न स्थानबाट आएका सर्वसाधारण भक्तजनले आइतबार महाआरतीको क्रममा गंगा माताको विशेष पुजापाठ समेत गरेका थिए ।
धार्मिक पर्यटन प्रवद्र्धन, राप्ती नदी क्षेत्र तथा मन्दिरको प्रचारप्रसार र जिल्लाका विभिन्न स्थानबाट आउने धार्मिक पर्यटकलाई स्वागत गर्न नियमित रुपमा महाआरती हुदै आएको मन्दिरका संरक्षक तथा पुजारी आचार्य रामप्रताप मिश्र शास्त्री महाराजजीले बताउनुभयो ।
स्थानीय तथा सामाजिक अगुवाहरुको पहलमा गत भदौ ३ गते श्रावण शुक्ल पूर्णिमाको दिनदेखि शुरु भएको महाआरती नियमित रुपमा गरिएको छ । महाआरतीलाई प्रत्येक महिनाको पूर्णिमाका दिन नियमित रुपमा गरिदै स्थानीय महाआरती समितिका अध्यक्ष सूर्यलाल यादवले बताउनुभयो । उहाँका अनुसार आइतबार मार्ग शुक्ल पूर्णिमाका दिन साँझ महाआरती गरिएको छ । नेपालगन्ज बाँके गाउँस्थित जानकी निरौला (माता जी)को विशेष सहकार्यमा महाआरती गरिएको हो ।
राप्ती नदी एउटा पर्यटकीय क्षेत्रको रुपमा रहेको छ । नदीमा प्रत्येक वर्ष कार्तिक पूर्णमासी र चैतराम नवमीमा स्नान मेला, साउन महिनामा बोलबम कवारिया, दशैमा दुर्गा मूर्तिको प्रतिमा विसर्जन, शुभदिपावली पर्वको अवसरमा महादिपोत्सव, माघे संक्रान्तिमा स्नान, फागुनमा शिवरात्री पर्वमा विशेष पूजापाठ तथा स्नान, समय समयमा सत्यनारायण कथा वाचन, मुण्डन संस्कार, पितृ विसर्जन र शव दहलगायतका कार्यक्रमहरु हुने गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष दिपक बर्माको परिवारले महाआरतीमा आर्थिक सहयोग समेत गरेको थियो ।
महाआरतीमा लुम्विनी प्रदेश सभा सदस्य मिना श्रेष्ठ, अम्बिका काफ्ले, डुडुवा गाउँपालिका वार्ड नं. ५ का अध्यक्ष झंकबहादुर थापा, समाजसेवी पशुपतिदयाल मिश्र, रमेश गुप्ता, ललित रौनियार, माधवराम बर्मा लगायत स्थानीय सर्वसाधारणको उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !