खजुरामा मौलिक भाषामा प्रत्यक्ष सांगेतिक कार्यक्रम


खजुरा – महिलाको महान चाड हरितालिका तीज। यस अवसरमा धार्मिक परम्परागत महिलाले वर्त बस्ने, नाचगान गर्ने जस्ताका कार्यक्रमहरु गर्ने गर्छन् । तीजको अवसरमा देशभरका धेरैजसो स्थानमा तीज विशेष कार्यक्रम पनि आयोजना गरिन्छ । यसै सन्दर्भमा बाँकेको खजुरामा हरेक वर्ष झै यो वर्ष पनि बृहत ‘खजुरा बृहत तीज महोत्सव–२०८१’ आयोजना हुँदैछ । जसको तयारी पूरा भएको आयोजक लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
विगत १८ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको तीज महोत्सवको यो १९औं श्रृंखला हो । विशेषगरी यो पटक खजुरालाई धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यसहित खजुरामा संकल्प गरिएको लक्ष्मीनाराण दिब्यधामको निर्माणार्थ महोत्सव आयोजना गर्न लागिएको लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार यसवर्षको महोत्सव धार्मिक उद्देश्य र मौलिकता प्रवर्द्धनमा केन्द्रीत रहेको छ ।
हरेक वर्ष तीजका कार्यक्रमामा मौलिकता हराउँदै गएकाले यसलाई जोगाउने उद्देश्य यो वर्षको महोत्सवले लिएको सचिव सुरेस कुमार खत्रीले बताए । उनले तीजमा पूर्णरुपमा मौलिक सामुहिक तीज नृत्य र मौलिक सामुहिक गीत प्रतियोगिता, परम्परागत लाखे नाच एवम् नेपाली परम्परागत खानाका परिकारका स्टलहरु महोत्सवमा राखिने बताए ।
सांस्कृतिक समितिका संयोजक मानबहादुर भण्डारीले मौलिक सामुहिक तीज नृत्य र मौलिक सामुहिक गीत प्रतियोगितामा नगद पुरस्कारको पनि व्यवस्था गरिएकाे बताए । भण्डारीका अनुसार सामुहिक तीज नृत्य प्रतियोगिताको प्रथमलाई २६ हजार, द्वितियलाई १६ हजार, तृतियलाई १० हजार र सान्त्वनााई ३ हजार १ सय नगद पुरस्कारको व्यवस्था गरिएको छ । साथै तीज गीत प्रतियोगिताको प्रथमलाई २१ हजार, द्वितियलाई १३ हजार, तृतियलाई ७ हजार ५ सय र सान्त्वनालाई २ हजार १ सय नगद पुरस्कारको व्यवस्था गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !