एमाले बाँकेको प्रशिक्षण ठाकुरद्वारामा

नेपालगन्ज – नेकपा (एमाले) बाँकेको आयोजना र जिल्ला स्कुल बिभागको ब्यवस्थापनमा दुई दिने प्रशिक्षण बर्दियाको ठाकुरद्वारामा सोमबारदेखि सुरु भएको छ ।

नेकपा एमाले जिल्ला कमिटी बाँकेका पदाधिकारी तथा सदस्यहरुको क्षमता विकास सम्बन्धि २ दिने प्रशिक्षण कार्यक्रमको सोमबार बर्दियाको ठाकुरद्वारामा उद्घाटन गर्दै महासचिव शंकर पोखरेलले मुलुकमा लामो समयदेखि देखिएको राजनीतिक अस्थिरता अन्त्यका लागि कांग्रेससंग गठबन्धन बनेको दावी गर्नुभयो । उहाँले पार्टीलाई बलियो बनाउन संगठनिक अराजकता अन्त्य हुन आवश्यक रहेको बताउनुभयो ।
महासचिव पोखरेलले १० औ महाधिवेशनबाट  पारित सिद्धान्त,कार्यक्रम र कार्यदिशा तथा नेपालमा राजनीतिक दलहरूको तुलनात्मक अध्ययनका विषयमा प्रशिक्षण दिनुभयो ।

कार्यक्रममा पार्टीका उपमहासचिव तथा स्कुल बिभाग प्रमुख प्रदिप ज्ञवालीले मार्क्सवादी अध्ययन,जनताको बहुदलीय जनवादका विषयमा प्रशिक्षण दिनुभयो ।

कार्यक्रममा एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कंडेलले पार्टी संगठनका समस्या र समाधानका उपाय, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्धि,विकास र सुशासनमा पार्टी पङ्तिको दायित्व र घनश्याम कोइरालाले प्रशिक्षण विधि,व्यवस्थापन शैली र कला विषयमा सहजीकरण गर्नुहुने जिल्ला अध्यक्ष निरक गुरुङले जानकारी दिनुभयो ।

उपाध्यक्ष रत्न खत्रीका अनुसार कार्यक्रममा जिल्ला कमिटी सदस्य र पदाधिकारी,पालिका कमिटीका अध्यक्ष र प्रदेश कमिटीका सदस्य गरि १५० जनाको सहभागिता रहेको छ ।
कार्यक्रममा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य शान्ति ढकाल, केन्द्रीय सदस्य सुर्य ढकाल,मोहम्मद हारुन,पशुपति दयाल मिश्र,केन्द्रीय सल्लाहकार दलबहादुर सुनार लगायतको सहभागीता रहेको सचीव बलराम भट्टराईले बताउनुभयो ।
यसैबीच एमाले बाँकेले जिल्ला कमिटी सदस्यको डिजिटल परिचयपत्र बनाइ जिल्ला कमिटी बैठक र कार्यक्रममा अनिवार्य गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !