विद्युतको समस्या समाधान गर्न ‘संयन्त्र’


नेपालगन्ज – नेपालगन्जमा देखिएको विद्युतको समस्या समाधान गर्न नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीको संयोजकत्वमा संयन्त्र गठन गरिएको छ ।
नेपालगन्ज उद्योग बाणिज्य संघले आयोजना गरेको नेपालगन्जको अनियमित विद्युतको समस्या र समाधान विषयक अन्तरक्रियापछि संयन्त्र गठन गरिएको हो । संयन्त्रमा व्यापारी, नागरिक समाजका अगुवा, वकिल, पत्रकार महासंघलाई सदस्य राखिएको छ । सदस्य सचिवको जिम्मेवारी संघका महासचिव भीमबहादुर रानाभाटलाई दिइएको छ ।
अत्याधिक गर्मी भएको र नेपालगन्जमा विद्युत छ्याप्पछ्याप्प जाने र भोल्टेजको समस्या रहेकाले समस्या समाधानमा संयन्त्रले सघाउ पु¥याउने महासचिव रानाभाटले बताउनुभयो ।
अन्तरक्रियामा लुम्बिनी प्रदेशका कृषिमन्त्री भण्डारीलाल अहिर, निवर्तमान मन्त्री एवं प्रदेश सांसद कृष्णा केसी नमूनाले प्रदेशबाट हुन सक्ने सबै सहयोग गर्न तयार रहेकाले विद्युतको समस्या समाधान गर्न जोड दिनुभयो ।
नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राई, प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, नेकपा एमाले, बाँकेका अध्यक्ष निरक गुरुङ, नेपालगन्ज उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी, निवर्तमान केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, संघका पूर्वअध्यक्ष नन्दलाल बैश्यलगायतले ४३ डिग्री गर्मीको समयमा विद्युत अनियमित हुँदा ठूलो सास्ती भोग्नु परेकाले काट्नै पर्ने भएमात्रै विद्युत काट्न र अन्य अवस्थामा विद्युत सुचारु गर्न आग्रह गर्नुभयो ।
विद्युत कार्यालय, नेपालगन्जका प्रमुख जगन्नाथ लामिछानेले लो भोल्टेजका कारणले विद्युत अनियमित भइरहेको जानकारी दिदै तार छिन्ने र पड्किने क्रम बढेको बताउनुभयो । उहाँले आफूहरुले विद्युत अनियमित हुन नदिन सक्दो काम गरिरहेको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !