नीतिमा समेट्ने योजना बनाउँदै युवा
नेपालगन्ज – प्रदेश युवा परिषद्, लुम्बिनीले नेपालगन्जमा ‘योजना तर्जुमा प्रक्रियामा युवाको सवाल तथा सहभागिता’ विषयक कार्यशाला आयोजना गरेको छ ।
सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको प्रदेश युवा परिषद्ले यही २२ गते हुने प्रदेश सरकारको नीति तथा कार्यक्रममा आफ्नो सहभागिताका लागि नेपालगन्जमा कार्यशाला गरेर सवालहरु उठान गर्दैछ ।
कार्यशालाको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीले प्रदेशको आगामी नीति युवामैत्री हुने र युवाले उठान गरेका सवाललाई समेट्ने आश्वासन दिनुभयो । मन्त्री खत्रीले युवालाई देशमै संभावना छ र यही केही गर्न सकिन्छ भन्ने आशा जगाएर मानसिक रुपमा तयार गर्नुपर्ने बेला आएको बताउनुभयो ।
प्रदेश युवा परिषद, लुम्बिनीका कार्यकारी उपाध्यक्ष गोविन्दबहादुर खत्री, सदस्य रिया बस्नेतले प्रदेश सरकारले आगामी नीति तथा कार्यक्रममा युवामैत्री कार्यक्रम र बजेट ल्याउन आग्रह गर्नुभयो । उहाँहरुले तीन तहको सरकारले युवामैत्री नीति तथा कार्यक्रम ल्याउन नसक्दा युवा विदेशिने गरेको टिप्पणी गर्नुभयो ।
वि.सं. २०७८ को जनगणना अनुसार नेपालमा ४०.३ प्रतिशत युवा छन् ।