कोहलपुरकाे बृहत्तर विकासका लागि समन्वय र सहकार्यमा जोड


काेहलपुर – कोहलपुरको वृहत्तर विकासका लागि सबैको समन्वय र सहकार्य आवश्यक रहेको भन्दै जनप्रतिनिधि तथा राजनीतिक दलहरुले त्यहीअनुसारको प्रतिवद्धता जनाएका छन् । कोहलपुर नगरपालिकाको ११ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्ने जनप्रतिनिधि तथा राजनीतिक दलका अगुवाहरुले कोहलपुरको विकासका लागि आफ्नो स्वार्थ भन्दा माथि उठ्नुपर्नेमा जोड दिए । उनीहरुले कोहलपुरको वृहत्तर विकास केवल भनेर भन्दा पनि गरेरमात्रै सम्भव हुने भएकाले आ-आफ्नो तहबाट त्यहीअनुसारको भूमिका खेल्नु पर्ने र त्यसका लागि प्रतिवद्ध रहेको उनीहरुको भनाइ थियो ।
बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य सूर्यप्रसाद ढकालले कोहलपुरको समग्र विकासका निम्ति सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । उनले कोहलपुर वनाउने हो भने राष्ट्रको ध्यान खिच्न सक्नुपर्ने बताउँदै यहाँको समग्र विकासका निम्ति जनताले जनप्रतिनिधिहरुलाई साथ दिनुपर्नेमा जोड दिए । राजनैतिक परिवर्तन ल्याउन केही दल ब्यक्तिले सम्भव भएपनि सामाजिक आर्थिक परिवर्तन र विकासका निम्ति सवै जनता, दल र क्षेत्रको महत्वपूर्ण भूमिका अपरिहार्य रहेको औंल्याउदै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका ढकालले समाज परिवर्तनका निम्ति हामीले जहावाट भूमिका खेलिरहेका छौं त्यहाँ हामीले कत्तिको ईमान्दारीता र जवाफदेहिता दिईरहेका छौं भन्ने कुराले ठूलो महत्व राख्ने बताए । कोहलपुर क्षेत्रमा भएका सरकारी जग्गा जमिन फिर्ता नभए सम्म सरकारी कामकाजका कार्यालयहरु ल्याउन समेत अप्ठ्यारो हुने भएकाले अव कमा फूलस्टप तथा तर पनि नलगाई अतिक्रमित जग्गा फिर्ता गर्नैपर्नेमा जोड दिएका सांसद ढकालले कोहलपुरको विकासलाई मूर्तरुप दिन नगरवासीको साथ सहयोग रहे मात्र संभव हुने भन्दै अतिक्रमित जग्गा फिर्ता अभियानमा यहाँका जनताको पनि खुलेर सर्मथन साथ रहनुपर्नेमा जोड दिए । ‘कोहलपुर शैक्षिक, स्वास्थ्य, खेलकुद र पर्यटकीय संभावना बोकेको शहर हो तर यस दिशातर्फ जान हामी के कुरामा अलमलमा परेका छौं उक्त कुराको पहिचान गर्दै हामीले एक्यबद्धता र प्रतिबद्धताको खाँचोलाई चिर्नुपर्छ’ ढकालले भने । लुम्विनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरीले कोहलपुरको विकासका लागि बहस जरुरी रहेको औल्याए । उनले कोहलपुरलाई ठूलो सम्भावनाको सहर भएको उल्लेख गर्दै त्यहीअनुसारको व्यवहार अव जनप्रतिनिधि तथा राजनीतिक दलबाट हुनुपर्ने बताए ।
लम्विनी प्रदेशसभा सदस्य कृष्णा केसीले सबैको एउटै उद्देश्य भयो भने कोहलपुरलाई सम्बृद्ध बनाउन सकिने बताइन् । उनले भनिन्,‘हामी सबैको एउटै उद्देश्य हुनुपर्छ औंल्याउदै कोहलपुरलाई कसरी सम्बृद्व बनाउन सकिन्छ र यहाँको बिकासका कुराहरुलाई कसरी केन्द्रित गर्ने सबै पक्षको एकै स्वर र एकै बोली हुने हो भने कोहलपुरलाई सम्बृद्ध बनाउन सकिन्छ ।’ उनले पश्चिम नेपालकै केन्द्र बिन्दुमा रहेको कोहलपुरमा अथाह सम्भाबनाहरु रहेको औंल्याउदै प्रयाप्त ती सम्भाबनाहरुलाई राजनैतिक रुपमा एक्यवद्धताको मात्र खाँचो रहनेमा जिकिर गरिन् । प्रदेश सभा सदस्य वसन्ती अधिकारीले पनि सम्वृद्ध कोहलपुरका लागि सबैको साथ र सहयोग जरुरी रहेको उल्लेख गरिन् । उनले विकास विरोधी तत्वहरु बेलाबखत सल्बलाउने गरेको भन्दै त्यस्ता तत्वहरुलाई पन्छ्याउनु पर्नेमा जोड दिइन् ।
कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुर नगर कार्यपालिका कोहलपुरको वृहत्तर विकासका निमित्त योजनबद्ध भइ अघि बढेको प्रष्ट्याए । उनले कोहलपुरलाई आधुनिक सहर बनाउने, शैक्षिक हव बनाउने सवालमा प्राथमिकताका साथ काम भइरहेको उल्लेख गरे । उनले कोहलपुर नगर विकास समितिको जग्गा फिर्ता गराउने सवालमा सवै राजनीतिक दलको प्रतिबद्धता आवश्यक रहेको औल्याए ।
नगर उप प्रमुख संगिता सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा निवर्तमान नगर प्रमुख लुटबहादुर रावत, खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्ल, नेपाली काङ्ग्रेसका जिल्ला सभापति नारायण प्रसाद गौंडेल, नेकपा एमाले नगर अध्यक्ष कुल प्रसाद भट्टराई, नेकपा माओवाली केन्द्रका नगर अध्यक्ष अवराज खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्विनी प्रदेश संयोजक डा. राज कुमार सुवेदी, नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य अब्दुल हुसेन खाँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला सचिव रुद्रमणि न्यौपाने, प्याब्सन बाँकेका अध्यक्ष यम रावत लगायत बक्ताहरुले शुभकामना सन्देशससहित सम्वोधन गरेका थिए ।
कार्यक्रममा दौड प्रतियोगिताका उत्कृष्ट छात्रछात्रा, राष्ट्रपति रनिङशिल्डका पदक विजेता, नृत्य प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, कविता प्रतियोगिता, ब्याटमिन्टन प्रतियोगिता, उत्कृष्ट करदाता, उत्कृष्ट कर्मचारी, उत्कृष्ट नगर प्रहरी, हरित अभियानमा सहयोग पुर्याउने व्यक्ति तथा संस्था, शैक्षिक सत्र २०७९-८० मा एसइई र विएलईमा उत्कृष्ट हुनेलाई पुरष्कृत तथा सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट बालविकास शिक्षक, कर्मचारी तथा शिक्षकहरुलाई प्रोत्साहन तथा सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न कला संस्कृति झल्कने सल्यानी टप्पा नाँच, देउडा नाँच र थारु नाच समेत प्रदर्शन गरिएको थियो । कोहलपुर नगरपालिकाका प्रेस संयोजक प्रियास्मृति ढकालले संचालन गरेको उक्त कार्यक्रममा जिल्ला समन्वय समिती बाँकेकी उपप्रमुख सीता कार्की, शसस्त्र प्रहरी बल जवान तालिम शिक्षालय नौवस्ताका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रविण कँडेल, कोहलपुर नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, बाँके प्रहरी प्रमुख तुल वहादुर कार्कीलगायतको सहभागिता रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !