बाँकेका साहित्यकारकाे  खप्तडमा साहित्यिक यात्रा

नेपालगन्ज – “साहित्यको सिर्जना समाजमा भद्रता पर्यटन प्रवद्र्धनमा हाम्रो ऐक्यबद्धता’’ भन्ने मूल मर्मका साथ कल्पना फाउन्डेसन नेपालले पश्चिम नेपालको पर्यटकीय स्थल खप्तडमा अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । नयाँ वर्ष २०८१ को पूर्व सन्ध्यामा आयोजित उक्त पाँच दिने भ्रमणमा समुद्री सतहदेखि ३०८४ मिटर अग्लो स्थानमा रहेको खप्तड बाबाको आश्रम अगाडि फाउन्डेसनको विभाग विस्तार र रचनावाचन कार्यक्रम समेत सम्पन्न गरिएको छ ।

बाँकेको खजुरा गाउँपालिका स्थित मानवीय सेवा र समाज सेवाका विभिन्न क्रियाकलापहरु सञ्चालन गर्ने र भाषा साहित्यको विकास तथा साहित्यिक उन्नयनका लागि २०७० सालमा स्थापित कल्पना फाउन्डेसन नेपालकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा फाउन्डेसनका सचिव लेकप्रसाद प्याकुरेलको संयोजकत्वमा साहित्य विभाग गठन गरियो । उक्त विभागका अन्य सदस्यहरूमा साहित्यकारहरु चरित्रा शाह, गीता अर्याल, बोधराज प्याकुरेल र इन्दिरा गौतम रहेका छन् ।
फाउन्डेसनका उपाध्यक्ष ऋषिराम सापकोटाद्वारा सम्पूर्ण उपस्थित साहित्यिक एवं योगकर्मी साधकहरूलाई शब्दगुच्छा सहित स्वागत गर्नुका साथै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो । उपाध्यक्ष ऋषिराम सापकोटाले फाउन्डेसनले आगामी दिनहरूमा कला र संस्कृति विभाग समेत गठन गर्ने योजना बनाएको जानकारी दिनु भयो ।
साहित्य विभागका संयोजक चयन भए पश्चात् लेकप्रसाद प्याकुरेलले फाउन्डेसनले २०८१ को वैशाख महिनाभित्रै साहित्य सम्बन्धि प्रशिक्षण कार्यक्रमाके आयोजना गर्ने बताउनु भयो ।
भ्रमण टोलीमा सहभागी व्यक्तित्वहरूलाई सम्बोधन गर्दै विश्व नेपाली साहित्य महासंघ नेपालकी अध्यक्ष समेत रहनु भएकी फाउन्डेसनकी अध्यक्ष पौडेलले छिट्टै नै फाउन्डेसनमा रु.५ लाख अक्षय कोष जम्मा गर्ने र उक्त अक्षय कोषबाट साहित्य र समाजसेवामा लागेका व्यक्तित्वहरुलाई पुरस्कृत गर्दै जाने भावी योजना रहेको बताउनु भयो ।
सोही कार्यक्रमको दोस्रो चरणमा सुप्रसिद्ध सन्त तपश्वी खप्तड बाबाको अद्र्ध कदको शालिक अगाडि रचनावाचन कार्यक्रमको आयोजना गरिएको थियो ।
भेरी साहित्य समाज केन्द्रीय समितिका सदस्य समेत रहेका बोधराज प्याकुरेलले लघुकथा वाचन गरेपश्चात् निरन्तरता पाएको उक्त रचनावाचन कार्यक्रममा साहित्यकारहरु इन्दिरा गौतम, गीता अर्याल लगायत बाँकेका भ्रमण टोलीका स्रष्टाहरुले रचनावाचन गरेका थिए ।
सोही कार्यक्रममा उपस्थित सबैले नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान गर्नुका साथै केहीबेर नृत्य सहितको मनोरञ्जनात्मक सांगीतिक प्रस्तुति समेत गरिएको थियो ।

बाँकेका साहित्यकारहरुको उक्त भ्रमण टोलीमा ज्ञान योग केन्द्र खजुराका उपाध्यक्ष रविन शर्मा, सचिव रत्ना कार्की, कोषाध्यक्ष पद्मा शर्मा, सदस्यहरू निलम कुँवर, मन्दिरा निरौला, निशा शर्मा, हेमलता पौडेल, समाजसेवी परशुराम शर्मा, शिक्षक शरणहरि सापकोटा, सरस्वती सापकोटा लगायत करीब दुई दर्जन साहित्यकार एवं योग साधकहरूको सहभागितामा सम्पन्न भएको उक्त कार्यक्रमको सहजीकरण कल्पना फाउन्डेसनका सचिव लेक प्रसाद प्याकुरेलले गर्नु भएको थियो ।

उल्लेखनीय छ, उक्त फाउन्डेसनले यस अघि चितवन चेपाङ वस्तिका वालवालिकाहरुका लागि खाध्यान्न वितरण तथा छात्रवृत्ति प्रदान गरेको, जाजरकोटका भूकम्प पीडितहरुलाई खाध्यान्न तथा लत्ताकपडा सहयोग गरेको थियो ।
त्यसैगरि नवलपरासी, बाग्लुङ र बाँकेमा एक दर्जन भन्दा बढी असहाय र अनाथ बालिकाहरुलाई छात्रवृत्ति तथा स्टेसनरी सहयोग गरेको, अक्षय कोषको स्थापना गरि समाजिक क्षेत्रमा काम गर्ने क्रममा गत वर्ष निलसागर सेवा आश्रम र मानव सेवा आश्रमलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।
त्यस्तै भाषा साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान दिने डा. ईन्द्र बहादुर भण्डारी र वरिष्ठ कथाकार सनत रेग्मीलाई पुरस्कार तथा सम्मान गरिएको थियो भने पुस्तक प्रकाशन, कृति विमोचन, रचना वाचन तथा प्रशिक्षण कार्यक्रमहरु संचालन गर्दै आएको कल्पना फाउन्डेसन नेपालकी अध्यक्ष कल्पना पौडेल “जिज्ञासु”ले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !