केवुल तार व्यवस्थित गर्दै कोहलपुर


काेहलपुर – कोहलपुर नगरपालिकाले नगरक्षेत्र भित्रका अव्यवस्थित रुपमा रहेका केवुल तार भोलिबाट हटाउने भएको छ ।

कोहलपुर नगर प्रहरी प्रमुख वीर बहादुर थापाले कोहलपुर नगरपालिका वडा नं.१२ चपरगौडी क्षेत्रबाट केवुल तार व्यवस्थापन अभियान सुरु गरिने जानकारी दिए । विभिन्न स्थानमा तारहरु झुल्लिएका र लत्रिएका छन् । पोलहरुमा रहेका तार पनि अव्यवस्थित रुपमा गुजुल्टिएका छन् । जसले गर्दा शहरको शोभा समेत कुरुप देखिएको छ । ‘विभिन्न केवुल प्रदायक संस्थाहरुबाट जडान गरिएका केवुल तारहरु कतिपय स्थानमा मापदण्ड विपरीत जडान गरिएको छ उनले भने, ‘जसका कारण आगलागीसँगै सवारी साधन दुर्घटनाको जोखिम समेत हुने गरेको छ । यसले कोहलपुरका शोभा समेत कुरुप बनाएले व्यवस्थापन गर्न थालिएको हो ।’

गत वर्ष पनि अव्यवस्थित रुपमा रहेका केवुल तार हटाइएको थियो । गत वर्ष हटाउन बाँकी रहेका मुख्य राजमार्ग क्षेत्र र भित्रि सहरका तार हटाउन लागिएको नगर प्रहरी प्रमुख थापाले बताए । केवुल तार व्यवस्थापन समिति मापदण्डनै छ । विद्युत प्राधिकरणको विद्युत पोलमा तार तान्दा विद्युत लाइनको तल्लो तार भन्दा दुई फिट मुनि र साढे तीन फिट बीच भागमा मात्र तार जडान गरी लाइने तान्नु पर्छ । फाइवर नेटवर्क संजालले आआफ्नो फाइवर केबुलको डि.वि बक्स रहेको पोलमा ट्याकिङ चिन्ह लगाउनु पर्छ । पोलमा रहेको तार गुच्छा सम्वन्धी संस्थाले सकेसम्म सानो बनाइ व्यवस्थित गरिनु पर्ने हुन्छ भने बढी तार भएको र झुल्लिने स्थानमा सबै तारलाई बाइन्डिङ गरिनु पर्छ, पोलमा रहेका पुरानो कामबिहीन तारहरु सम्वन्धित संस्थाले हटाउनु पर्ने मापदण्ड छ ।

केवुल तार व्यवस्थापनका लागि गएको चैत १४ गते सम्बद्ध सरोकारवालाहरुको बैठकले तार व्यवस्थापनमा समन्यकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए । नेपाल टेलिकम, विद्युत प्राधिकरण, विभिन्न केबल नेटवर्क, जनप्रतिनिधि सम्मिलित बैठकले कोहलपुर नगर क्षेत्रभित्रका तार व्यवस्थापन गर्ने निर्णय गरेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !