नेपालगञ्जमा घर–घरमा गएर पशुलाई ‘भ्याक्सिन’


नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले घर–घरमा गएर पशुलाई ‘भ्याक्सिन’ लगाएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको पशु शाखाले नगरका सबै वडामा घरघरमै पुगेर भ्याक्सिन लगाउने अभियान थालेको हो । बिहीबार वडा नं. १८ का घरघरमा पुगेर पशुलाई भ्याक्सिन लगाइएको छ । उपमहानगरपालिकाका आर्थिक विकास समिति संयोजक एवं वडा नं. ४ का अध्यक्ष गोपाल पुनले वडा नं. १८ को अभियानको उद्घाटन गर्नु भएको थियो ।
पशु शाखा प्रमुख लक्ष्मी चन्दका अनुसार, पीपीआर, खोरेत, भ्यागुते र स्वाइनफिवरविरुद्धका भ्याक्सिन लगाइएको छ । पीपीआर २५ हजार, खोरेत २० हजार, भ्यागुते १५ हजार र स्वाइनफिवरको एक हजार डोज लगाउने लक्ष्य रहेको छ ।
उपमहानगरपालिकाले घरघरमा गएर भ्याक्सिन लगाउनका लागि तीन जना भ्याक्सिनेटर र तीन जना सहयोगी नियुक्त गरेको छ । दिनेश विश्वकर्मा, हिरालाल अहिर र शिशराम यादवले भ्याक्सिन लगाइरहेका छन् ।


सबै वडाका प्रत्येक घरघरमा पुगेर पशुलाई भ्याक्सिन लगाउने काम भइरहेको छ । पशु शाखा प्रमुख चन्दले वडा नं. १३, १४, १७, १९,२०, २१, २२ र २३ मा भ्याक्सिन लगाउने काम सकिएको जानकारी दिनुभयो । पशुमा कुनै पनि बेला पीपीआर, खोरेत, भ्यागुते र स्वाइनफिवर फैलिन सक्ने भएकाले उपमहानगरपालिकाले यी रोगविरुद्ध भ्याक्सिन लगाएको हो । वडा नं. १८ को भ्याक्सिन अभियानको उद्घाटनमा उपमहानगरपालिकाका प्रेस सल्लाहकार नविन गिरीलगायतको उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !