वाटरपार्कमा जारी सातौं प्रादेशिक महोत्सव सकियाे

नेपालगञ्ज – नेपालगञ्जको वाटरपार्कमा जारी सातौं प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवंम पर्यटन महोत्सव सम्पन्न भएको छ ।
यही चैत्र ६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने भनिएको महोत्सव आठौं दिन बुधबार समापन गरिएको छ । आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति(महिला उद्यमी समिति) बाँकेको बसेको आपतकालिन बैठकले यस्तो निर्णय गर्दै महोत्सव समापन गरेको जनाएको छ ।
दिनहुँ स्थानीय तथा राष्ट्रिय चर्चित कलाकारको प्रस्तुती भइरहेको महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता हुन नसक्दा आयोजकलाई दिनहुँ ३ लाखको आर्थिक क्षति व्यहोर्नु परेको थियो ।
आयोजक महासंघकी अध्यक्ष मधुकुमारी खड्रकाले एसईई लगायत विद्यालयको वार्षिक परीक्षाको समय हुनु, महोत्सव स्थल नजिक भएपनि सबैलाई पाएक नपरेको, बढ्दै गएको गर्मी र मौसमको चुनौती तथा दर्शकको उल्लेख्य सहभागिता हुन नसक्नु लगायतका विविध कारण देखाउँदै महोत्सव विचैमा समापन गर्नुपरेको जानकारी दिनुभयो ।
आयोजकले महोत्सव अवधिभर भब्य र सभ्य रुपमा सफल बनाउन सहयोग गर्नुहुने उद्योगी, व्यवसायी, राजनीतिक दल, संघसस्था, सञ्चारकर्मी, समर्थक, शुभेच्छुक, सुरक्षाकर्मी र जिल्लाबासी समक्ष धन्यबाद ज्ञापन समेत गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !